बझाङ । बझाङ जिल्लाका विभिन्न विद्यालयमा कार्यरत काज सरुवामा रहेका शिक्षकहरुलाई फिर्ता बोलाउन शिक्षा विकास तथा समन्वय इकाइ बझाङले निर्देशन दिएपनि पालिकामै काज सरुवामा रहेका शिक्षकहरुको काज फिर्ता गराउन पालिकाहरुले अटेरी गरेछन् ।
बझाङका ५ ओटा पालिकाले विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुलाई लामो समयदेखी काजमा काम गराउदै आएका छन् । पहुँच र शक्तिका आधारमा शिक्षण पेसामा आबद्ध शिक्षकलाई लोमो समय देखी जिल्लाको बुंगल नगरपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका,खप्तडछान्ना गाउँपालिका र साईपाल गाउँपालिकाले शिक्षा शाखामा काम गराइ रहेका हुन् ।
पहुँच र शक्तिका आधारमा शिक्षण पेसामा आबद्ध शिक्षक विभिन्न निकायमा काजमा जाने क्रम बढेको गुनासो आएपछि शिक्षा मन्त्रालयले कडाइ गर्ने भनेपछि शिक्षा विकास तथा समन्वय इकाइ बझाङले काज सरुवामा रहेका शिक्षकहरुलाई फिर्ता बोलाउन पालिकाहरुलाई निर्देशन दिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ बझाङले राजनीतिक आड र पहुँचमा बहाल रहेको विद्यालय छाडेर अन्य कार्यालयमा बसेर काम गरिरहेका शिक्षकहरुलाई काज फिर्ता गराउन सबै पालिकालाई परिपत्र गरेको छ । तर पालिकाहरुले उक्त परिपत्रको अटेरी गर्दैआएका छन् ।
जिल्लाको बुंगल नगरपालिकामा एक बर्ष भन्दा लामो समय देखी सरस्वती माध्यामिक विद्यालयका कार्यरत शिक्षक गोपाल कुंवरलाई पालिकाले शिक्षा शाखामा काज सरुवाका आधारमा काम गराइरहेको छ । त्यस्तै दुर्गाथली गाउँपालिकाको शिक्षा शाखामा चौधारी माविका स्थायी शिक्षक गणेश बहादुर सिंहलाई विगत एक बर्ष देखि काजमा राखेर काम गराइदै छ ।
थलारा गाउँपलिकाले पनि शिक्षा शाखामा २ जना शिक्षकलाई काजसरुवामा काम गराइ रहेको छ । एब बर्ष अघिनै थलारा माविमा कार्यरत शिक्षक हर्क बहादुर रोकायालाई शिक्षा शाखामा शिक्षा संयोजकको जिम्मेवारी दिइएको छ, भने कालिका आधारभुत विद्यालयमा कार्यरत शिक्षक राइभान ओलीलाई पनि शिक्षा शाखामा नै काजमा तानिएको छ । त्यस्तै साईपाल गाउँपालिकाले काडा माविमा कार्यरत शिक्षक ज्ञान बहादुर धामीलाई लामो समय देखि काम गराईहेको छ ।खप्तडछान्ना गाउँपालिकाले पनि एक जना शिक्षकलाई पालिकामै काजमा काम गराईरहेको छ।
शिक्षा विकास तथा समन्वय इकाई बझाङले काज फिर्ता गराउनका लागि सबै पालिकालाई ताकेता दिए पनि पालिकाहरुले भने अटेरी गर्दै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाईको ताकेता पत्र पालिकामा पुगेको भएपनि कार्यपालिकाले निर्णय गरेर काजमा ल्याएका शिक्षकलाई कार्यपालिकाबाटै निर्णय गराएर काज सरुवा फिर्ता गराउनुपर्ने सम्बन्धित पालिकाहरुका प्रशासकीय अधिकृतले जनाएका छन् ।