बझाङ ; बझाङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। बझाङको बित्थडचिर गाउँपालिका–६ की २१ वर्षीया बसन्तीदेवी धामीको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। धामीलाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए। जिल्ला अस्पताल बझाङका अनुसार आज बिहान १ बजे तिर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन। उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन्।
पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ, यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको र रक्तस्राव पनि भएपछि उपचारको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल बझाङका डा.ओव्जन रावलले बताए।