बझाङ । राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी बझाङले जिल्ला अस्पताल बझाङमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ । मंगलबार आफ्नो ३५ औँ स्थापना दिवसको अवसरमा युवासंघ बझाङले रक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो । अस्पतालमा भर्ना भएका २० जना बढी बिरामीलाई फलफूल वितरण गरिएको र ६ जनाले रक्तदान गरेको राष्ट्रिय युवासंघ नेपाल बझाङका अध्यक्ष संसार खड्काले बताए ।
बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित उनिहरुलाई फलफुल बितरण गरिएको उनले बताए । फलफुल वितरण पछि भएको कार्यक्रममा बोल्दै राष्ट्रिय युवासंघ नेपाल बझाङका उपाध्यक्ष धिरेन्द्र बहादुर सिंहले युवासंघले युवाका हकहितका साथ साथै सामाजिक कार्यमा समेत काम गरिरहेको बताए ।
युवासंघका अध्यक्ष खड्का र उपाध्यक्ष सिंहले जिल्ला अस्पतालले दुर्गम क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेकाले अस्पताललाई आवश्यक परेको बेला युवासंघले जस्तोसुकै सहयोग गर्नेपनि बताए । सो क्रममा जिल्ला अस्पताल बझाङका अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिंह जिल्ला अस्पताल बझाङका प्रमुख डा.नवराज जोशी लगायतको उपस्थिती रहेको थियो ।