बझाङ । बझाङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र १(क) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्त पुर्वक मतदान सम्पन्न हो ।बझाङ प्रदेशसभा निर्वाचन (१) मा भइरहेको मतदानमा सबै निर्वाचन क्षेत्रमा जम्मा ४९ दशमलव १२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको हो । यो निर्वाचन क्षेत्रमा ६१ हजार सात सय ४८ मतदाता रहेको भएपनि ४९ दशमलव १२ मतदाताले मतदान गरेका छन् ।
यातायात पुगेका मतदान स्थल तथा मतदान केन्द्रहरुको मतपेटीका सुरक्षा व्यवस्था सहित शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्ला अदालतमा ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज सडकको पहुँच भएका ठाउँबाट सुरक्षाकर्मीसहित मतपेटिका सदरमुकाम ल्याइने छ भने सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाको मतपेटिका अमइतबार सम्म हेलिकोप्टरमार्फत ढुवानी गरिने छ । आज बझाङमा मौसम प्रतिकूल भएकाले हेलिकोप्टर मौसमको अवस्था हेरेर उड्ने र दुईवटा वडाको ल्याइने पनि मुख्य निर्वाचन अधिकृत लामिछानेको भनाइ छ ।
भोलिसम्म सबै ठाउँका मतपेटिका ढुवानी सकिएपछि सर्वदलीय बैठक बसी मतगणना गरिने भएको छ। बझाङका ७ पालिका साइपाल गाउँपालिका, तल्कोट गाउँपालिकका, मष्टा गाउँपालिका, सुर्मा गाउँपालिमा, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिका सहित थलारा गाउँपालिको ९ नम्बर वडामा आज मतदान सम्पन्न भएको हो ।
बझाङ–१ को प्रदेश सभा १ मा ११ जना उम्मेदवार छन् । यहाँ एमालेबाट दमनबहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोरकुमार खड्का, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, नेमकिपाबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खाती, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार हुनुहुन्छ ।