बझाङ । बझाङ जिल्लामा हालसम्म एक हजार राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय बझाङकाअनुसार हालसम्म एक हजार तीन राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्रको कार्ड छापिएर आएपछि प्रशासनले गत मंसिर महिनादेखि परिचयपत्र वितरणको काम सुरु गरेको थियो ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर हो । अहिले सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
राष्ट्रिय परिचयपत्र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र भएको र प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन स्वयम् व्यक्ति आफै आउनुपर्ने जिल्ला प्रशासन कार्यालयको परिचयपत्र शाखामा कार्यरत कर्मचारी निलम खड्काले बताउनुभयो ।
पहिलो चरणमा १३ हजार ५ सय परिचयपत्र तयार भएर बझाङ आइपुगेका छन् । नागरिकका सेवा सुविधाहरूसहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहेको र राहदानी बनाउन आउनेले अनिवार्यरूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताउनुभयो ।