जिल्ला अस्पताल बझाङमा कार्यरत विशेषज्ञ चिकित्सक जोशीलाई स्वास्थ्य मन्त्रालय तानियो
अस्पतालको सेवा प्रभावित
जिल्ला अस्पताल बझाङमा कार्यरत स्त्रीरोग विशेषज्ञ चिकित्सक डा. नवराज जोशीको स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको छ । मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार २४ गते मन्त्रालयमै काज फिर्ता गरिएको हो । १५ महिना अघि डा. जोशीलाई बझाङ पठाइएको थियो । उनलाई मन्त्रालय तानेपछि बझाङ अस्पतालको प्रसूति सेवा प्रभावित बनेको छ । एक मात्र विशेषज्ञ चिकित्सक रहेको सो अस्पतालका डाक्टर जोशीलाई तान्दा प्रसूति शल्यक्रिया सेवाहरू बन्द भएका छन् । यस्तै सुत्केरीका जटिल अपरेसनहरू पनि बन्द भएका छन् ।
स्रोतका अनुसार डाक्टर जोशीले मेडिकल व्यवसायीका भेषधारी माफियाको निर्देशन नमान्दा सरुवा गरिएको बताक्ष्एको छ । मेडिकल आपूर्तिकर्ताहरूलाई गुणस्तरीय उपकरण तथा सामाग्री माग गर्दा भुक्तानीमा कडाइ गर्दा काज फिर्ता पावर लगाएर गराइएको बताइएको छ । गत आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो बनेको थियो । सुदूरपश्चिम प्रदेशको दुर्गम मानिने बझाङमा स्वास्थ्य क्षेत्र उसै पनि लथालिङ्ग छ । त्यसमाथि असोज १४ गते देखि झन् लगातार बेलाबेला भूकम्पले बझाङवासीलाई झस्काइरहेको छ । यस्तो सङ्कटका बेला जिल्लाको जनस्वास्थ्य क्षेत्र पनि प्रभावित बनेको छ ।