आर्थिक अधिकार सहित बुंगल नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा जोशी!

बझाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रशासन र आर्थिक अधिकार सहित बझाङको बुङ्गल नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धुर्वराज जोशीले पाउनु भएको छ । बुंगल नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चापागाई गतहप्ता सरुवा भएर मकवानपुर गएपछि नगरपालिकाको प्रशासन र आर्थिक गतिविधि सहितको जिम्मेवारी नगरपालिकामा कार्यरत अधिकृत छैटौ तहका कर्मचारी जोशीले पाएका हुन् ।

बुंगल नगरकार्यपालिकाले आर्थिक अधिकार सहित जोशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएपछि मन्त्रालयले अर्को व्यवस्था नहुन्जेल सम्मका लागि प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी जोशीलाई सुम्पिएको हो ।

बुंगल नगरपालिकामा किन बस्न मान्दैनन् प्रमुख प्रशासकीय अधिकृत ?

बुंगल नगरपालिका जनसंख्या, बजेट र योजना संख्याका हिसाबले जिल्लाकै पहिलो ठुलो पालिका हो । बजेट, योजना र सेवाग्राहीको संख्या पनि बढी हुने भएकाले कर्मचारीले केहि सास्ती खेप्नु परेको छ । बुंगल नगरपालिकामा सबैभन्दा बढी बेरुजु आउने गरेको छ । पहिलेका प्रशासकीय अधिकृतहरुको कार्यकालमा भएको बेरुजु राफसाप गर्ने दायित्व पनि कार्यालय प्रमुख र लेखा उत्तरदायी अधिकृतको हुने भएकोले पनि बेरुजु मिलाउन जनप्रतिनिधिले दबाब दिने गरेका कारण यहाँ कर्मचारी आउन नमान्ने गरेको र आएपनि लामो समय सम्म नबस्ने गरेको एक कर्मचारीले बताउनुभयो । जसको नाममा बेरुजु कायम छ स्वयं व्यक्तिले बेरुजुको बारेमा बढी जिम्मेवार हुनुपर्छ । असुल उपर गर्नु पर्ने बेरुजु सम्बन्धितले बेरुजु दाखिला नगरे कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी बाँकी सरह असुल उपर गर्दछ । लेखा परिक्षण प्रतिवेदन माथि सभामा प्रस्तुत र छलफल गर्नु पर्नेमा सो समेत स्थानिय तहहरुमा भएको पाइएको छैन । बेरुजु फर्छ्यौट गर्न स्थानिय सभाले समेत आवश्यक निर्णय गर्नुपर्छ ।

नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख जयबहादुर धामी र नेकपा एसका उपप्रमुख धनबहादुर बोहरा बीचका तालमेल नमिल्दा शक्ति संघर्षका कारण पनि काम गर्न समस्या हुने गरेको कर्मचारीको भनाइ छ  । यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने कर्मचारी अभावका कारण जोशीलाई निमित्तको जिम्मेवारी दिनुपरेको जानकारी दिएको छ ।

‘मन्त्रालयको स्थानीय कर्मचारी प्रशासन शाखाका उपसचिव खिलाराज राईले भन्नुभयो, ‘२०७७ सालदेखि विभिन्न कारणले लोक सेवाले कर्मचारी पदपूर्ति गर्न सकेको छैन । कर्मचारी नभएपछि निमित्तले पनि काम गर्नुपरर्ने हाम्रो बाध्यता हो ।’ यसअघि मन्त्रीस्तरको निर्णयले निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने निर्णय गरेपनि कर्मचारी अभावमा पालिकाको कामकाज प्रभावित हुनेभन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा पनि काम चलाउनु परेको उहाँले बताउनु भयो ।

janahit ma jari sandesh
Masta R.M
Loading...