खप्तडछान्नामा इन्टरनेट र फोनमा समस्या
बझाङको खप्तडछान्नामा फोन र इन्टरनेटमा सधै सास्ती हुने उपभोक्ताले गुनासो गरेका छन् । खप्तडछान्नामा नेपाल टेलिकमको एनटीसी सिम प्रयोग कर्ता धेरै छन् । ‘मौसम बदली हुँदा त सधैं समस्या आइरहन्थ्यो तर सामान्य अवस्थामा पनि फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या छ ।,’ खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष गौरी अधिकारीले भनिन् । उनका अनुसार वडा नम्बर ३ का दारुगाउँ, थाप्लीकोट, ढुमखेत र मेल्तडी लगायतका ठाउँमा नेटवर्क नै टिप्दैन ।
हाल खप्तडछान्ना गाउँपालिकामा दुईवटा नेपाल टेलिकमका टावर छन् । खप्तडछान्ना -७ मष्टामाण्डौं रहेको टावरले फोरजी देखाउने गरेको तर इन्टरनेट नचल्ने गरेको त्यहाँका उपभोक्ता मुकेश थापाले बताए । अर्को टावर बामीली डाँडा मुनी भए पनि सोचेजस्तो फोन र इन्टरनेट नभएको पसलबगरका दिनेश रोकायाले गुनासो गरे । बादल लाग्ने बित्तिकै सञ्चार अवरुद्ध हुने, भ्वाइसकल नबुझिने, नाममात्रको फोरजी देखाउनेजस्ता समस्याले सूचना आदान प्रदानमा नागरिकले सास्ती भोग्दै आएको उनको भनाई छ । भौगोलिक हिसाबले खप्तछान्नाका गाउँ बस्ती अझै सूचना सञ्चारको पहुँचमा पुग्न सकेका छैनन् ।
सूचना प्रविधिले विश्व साँघुरिदै गएको अवस्थामा बझाङमा अझै गुणस्तरीय फोन इन्टरनेट सेवा विस्तार हुन नसक्नु दुःखद पक्ष भएको पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकाया बताउँछन् । बझाङमा वर्षेनी इन्टरनेटमा आउने समस्याले पत्रकार, सञ्चारगृह, बैंक तथा वित्तीय क्षेत्र बढी प्रभावित भएकाले यसको दिगो समाधान खोज्नु अपरिहार्य भएको खप्तडछान्ना -३ का हिरा रावलले बताए । यता नेपाल टेलिकम शाखा कार्यालय बझाङले विद्युत अभावले त्यस्तो समस्या देखिएको बताएको छ ।
टेलिकम शाखा कार्यालय बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले खप्तडछान्नाका लागि आफूले धेरै प्रयास गरेको तर असफल भएको स्वीकारे । उनले भने, ‘वडा नम्बर ७ को मष्टामाण्डौं टावरका लागि विद्युत जोड्न लागेका हौ त्यो पनि सफल भएन । अब हिउँदे याम लागिसक्यो केन्द्रमा सोलार र ब्याट्रीका लागि भनेको छु तर फिक्स छैन । मैलै चिन्ता लिएर मात्रै हुँदैन केन्द्रिय र प्रादेशिक कार्यालयकाहरु मतलब गर्दैनन् ।’