बझाङ ; बझाङमा स्थायी घर भइ काठमाडौंस्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहनेले छात्रवृत्ति पाउने भएका छन् । यसको लागि क्याम्पसमा ’माताश्री पद्मा मल्ल’ छात्रवृत्ति कोषको स्थापना गरिएको छ ।
हाल स्विडेनको स्टकहोम विश्वविद्यालयबाट सेवा निवृत्त भएका प्राध्यापक डाक्टर कटक मल्लले छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । नेपाल ल क्याम्पसका पूर्वप्राध्यापक समेत रहेका मल्लले आफू यहाँ अध्यापनरत रहँदा पारिश्रमिकबाट कट्टि भएर सञ्चयकोषमा जम्मा भएको सात लाखबाट उक्त छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
सो रकमको ब्याजबाट प्रत्येक वर्ष एक जना बझाङबासी जेहेन्दार विद्यार्थीलाई कानुनमा स्नातक (बीए एएलबी) पढाउने गरी मल्लकी आमाको नामबाट ’माताश्री पद्मा मल्ल’ छात्रवृत्ति कोष स्थापना भएको नेपाल ल क्याम्पसले जनाएको छ । उक्त छात्रवृत्ति क्याम्पसको स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष असार १७ गते प्रदान गर्ने गरी क्याम्पस प्रमुख डिएन पराजुली र मल्लबीच बिहीबार सम्झौता भएको हो ।
‘वर्षको एकै जना भए पनि गरिब तथा जेहेन्दार विद्यार्थीले खर्चको अभावमा पढनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले यो कोषको स्थापना गरेको हुँ,’ आफू पनि बझाङमै जन्मेको र बझाङका विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा पाउनबाट बञ्चित भएको अवस्था बुझेको बताउँदै मल्लले भने, ‘यो कोषले खर्च काठमाडौं आएर कानुन पढ्ने चाहना भए पनि आर्थिक अवस्थाले नसक्ने विद्यार्थीलाई राहत र प्रोत्साहन मिल्ने विश्वास लिएको छु ।’ उनले दुर्गम क्षेत्रका विद्यार्थीलाई कानुन अध्ययनका लागि प्रोत्साहन होस् भन्ने सोचका साथ उक्त छात्रवृत्ति कोष स्थापना गरेको बताए ।कान्तिपुर