दुर्गाथली गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

बझाङ ; बझाङको दुर्गाथली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । विहिबार एक औपचारिक कार्यक्रमका साथ गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको हो ।

दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय प्रमुख नर बहादुर बोहोरा रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख भानु जोशी, गाउँपालिका उपाध्यक्ष जनक दौल्याल लगाएत सम्पुर्ण वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मि,समाजसेवि र स्थानियहरुको उपस्थिति रहेको थियो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक महिना खोपको सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।

गाउँपालिकामा १५ महिना मुनिका १९७ र १६ देखि ५९ महिना सम्मका ४१७ बालबालिका गरेर कुल ६ सय १४ बालबालिकाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहोराले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताउनुभयो । पालिकाभित्र ३ वटा स्वास्थ्य चौकी, ४ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ५ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।

janahit ma jari sandesh
Masta R.M
Loading...