खाता सञ्चालन नहुँदा विद्यालयको कामकाज र शिक्षकको तलब ठप्प

तेज बोहरा , धनगढी  ; बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा रहेको सुनकुडा नमुना माध्यामिक विद्यालयको खाता सञ्चालन नहुँदा विद्यालयको कामकाज र शिक्षकको तलब रोकीएको छ । विद्यालयको खाता सञ्चालन नभएपछि शिक्षकहरुले चार महिनादेखी तलब पाउन सकेका छैनन् भने अन्य कामकाजहरु समेत ठप्प भएका छन् ।

विद्यालय व्यवस्थापन समितिले चयन गरेका प्रधानाध्यापक योगेन्द्र धामीलाई गाउँपालिकाले अख्तियारी नदिएपछि विद्यालयको खाता सञ्चालन हुन नसकेको हो । माघ २६ गते समितिले विगत ४ बर्षदेखी कार्यरत माध्यामिक तह तृतिय श्रेणी शिक्षक धामीलाई प्रधानाध्यापक सिफारिश गरेको थियो । सोही निणर्य र समितिको सिफारिसलाई आधार मानेर शिक्षा विकास तथा समन्वय ईकाई बझाङले धामीलाई फागुन १६ गते प्रधानाध्यापक नियुक्त गरेको छ ।

व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय ईकाईको निणर्यलाई लत्याएर बित्थडचिर गाउँपालिकाले भने प्रधानाध्यापकलाई विद्यालयको खाता सञ्चालनको अनुमति दिन आनाकानि गरिरहेको छ । प्रधानाध्यापक नियुक्ति प्रक्रिया नमिलेको भन्दै खाता सञ्चालनको लागि अनुमति रोकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रवक्ता हरिचन्द्र जोशीले सोही विद्यालयमा प्रधानाध्यापक नियुक्ति पक्रिया नपुगेकोले खाता सञ्चालनको अनुमति रोकेको स्विकार गरे । उनले भने–‘प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय व्यवस्थापन समितिले आवेदन खोल्नु पर्छ, शिक्षकहरुबाट आएको आवेदनका आधारमा योग्यता पुगेको व्यक्ति प्रधानाध्यापक नियुक्त हुनुपर्ने हो, तर त्यहाँ त्यसो गरिएन र समितिले ठाडो सिफारिस गरेर प्रधानाध्यापक नियुक्ति गरियो, त्यसैले पालिकाले अनुमति रोकेको हो ।’ प्रवक्ता जोशीले आफु व्यवस्थापन समितिको पदेन सदस्य समेत भएको र आफुलाई समेत प्रधानाध्यापक नियुक्ति पक्रिया जानकारी नगराएको बताए ।

यता विद्यालयका प्रधानाध्यापक धामीले आफुलाई विद्यालय व्यवस्थापन समितिले पक्रियागत रुपमानै प्रधानाध्यापक नियुक्त गरिएको दाबि गरे ।उनले भने–‘समितिले पक्रियागत रुपमा सिफारिश गरेर शिक्षा विकास तथा समन्वय ईकाईले प्रधानाध्यापक नियुक्त गरेको हो, सोही आधारमा अहिले सबै कामकाजहरु गरिरहेको छु ।’ उनले थपे ‘जिल्ला प्रशासन र शिक्षा ईकाईको अनुमतिमा आठ कक्षाको परिक्षा र १० कक्षाको परिक्षा केन्द्राध्यक्षको रुपमा सञ्चालन गरिरहेको छु तर गाउँपालिकाले भने राजनीतिक पुर्वाग्रह राखेर आफुलाई अनुमति दिन आनाकानि गरिरहेको छ ।’ उनले विद्यालयमा आफुभन्दा सिनियर शिक्षक मदन बम रहेको र उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आफुलाई आग्रह गरेपछि समितिले आफुलाई सिफारिश गरेको बताए ।

प्रधानाध्यापक धामीले गाउँपालिका जनप्रतिनिधीहरुले आफु अनकुलको शिक्षकलाई प्रधानाध्यापक बनाउने उद्देश्यले अनुमति दिन आनाकानि गरिरहेको बताए । विद्यालयको खाता सञ्चालन अनुमति नदिएपछि शिक्षकहरुले विगत चार महिनादेखी तलब नपाएको र अन्य कामकाजहरु समेत रोकीएको उनले बताए ।‘विद्यालयमा थुप्रै कामहरु भईरहेका छन् भवन निमार्ण, परिक्षा सञ्चालन, विद्यार्थि भर्नादेखी थुप्रै कामहरु प्रभावित बनेका छन्’ उनले भने ।

यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश अधिकारीले प्रधानाध्यापक नियुक्ति पक्रियामा कुनै विवाद नरहेकोले विद्यालयको खाता सञ्चालनको लागि पालिकाले अनुमति दिनुपर्ने उनले बताए । उनले सबै पक्रियाहरु पुर्याएर नियुक्त सिफारिश गरिएको बताए ।

उनले भने–‘समितिले निणर्य गर्ने क्रममामा कसले दाबि विरोध नगरेकाले सर्वसम्मत्त प्रधानाध्यापक सिफरिश गरिएको हो, कसले दाबि विरोध गरेको भए आवेदन माग गर्ने तथा परिक्षा लिने हुन्छ तर एकल उम्मेद्धारी भएपछि सर्वसम्मत सिफारिश गरिएको हो ।’ उनले पक्रिया पुगेकै कारण शिक्षा विकास तथा समन्वय ईकाईले नियुक्ति पत्र प्रदान गरेको समेत प्रष्ट पारे ।

अधिकारीले गाउँपालिकाले त्यसरी रोक्न नपाइने समेत बताए । गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र बहादुर धामी भने यस बिषयमा जानकारी लिन खोज्दा सम्पर्कमै आएनन् ।

janahit ma jari sandesh
Masta R.M
Loading...