सुरेश धामी बझाङ ; बझाङको बुंगल नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइन लागेको हो । रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमैं कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले बताउनुभयो।
यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ३२ लाख ८८ हजार रुपैयाँ बजेट छुट्याएको र चैत्र ७ गते बोल पत्र समेत आह्वान गरी सकेको छ । बोल पत्र आह्वान गरेपछि पेरका आवेदन बाट छनोट भएका कम्पनीहरुले स्यानिटरी प्याड खरीद गरी नगरपालिकामा बुझाएपछि नगरपालिकाको शिक्षा शाखाबाट सबै विद्यालयहरुलाइ आवस्यकता अनुसार वितारण गरीने नगर प्रमुख धामीले बताउनु भयो ।
कक्षा ६ देखि माथिका सामुदायिक विद्यालयका छात्रालाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको भएपनि आवस्यकता अनुसार सबै विद्यालयमा अध्यनरत रजस्वला हुने उमेरका किशारी हरुका लागि सेनिटरी प्याड खरीत गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने छात्राहरुको संख्या २ हजार ६ सय २७ जना रहेकोछ । आर्थिक अभावमा कतिपय छात्राहरुले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले चेतना अभिवृद्धिका लागि पनि स्यानिटरी प्याड उपलब्ध गराइन लागेको नगरपालिकाका शिक्षा अधिकृत देवराज जोशीले बताउनु भयो ।
रजस्वला हुने उमेरका छात्रा संख्याको आधारमा नगरपालिकाले स्यानिटरी प्याड खरीदका लागि बोलपत्र आह्वान गरी खरीद प्रक्रिया अगाडी बढाएको हो । स्यानिटरी प्याडको उपलब्धताले किशोरीहरु ढुक्कसँग विद्यालय आउने वातावरण बन्ने दुर्गा माध्यामिक बिद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर ऐडीले बताए ।