सुरेश धामी, बझाङ ,: प्रेस चौतारी नेपाल बझाङ शाखाले २५ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बझाङ शाखाले जिल्ला अस्पताल सिमखेतमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालको केन्द्रको निर्णय अनुसार जिल्लामा विविध कार्यक्रम गर्ने भन्ने भए अनुसार जिल्ला शाखाले बिरामीलाई फलफूल वितरण गरेको प्रेस चौतारी बझाङका सचिव रिदम सिंहले जानकारी दिनुभयो ।
आइतबार बिहान साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङको प्रमुख आतिथ्यमा प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश केसी, अग्रज पत्रकार बसन्तप्रताप सिंह, जिल्ला शाखा अध्यक्ष मकरराज धामी लगायत चौतारीमा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले पत्रकारहरूले सामाजिक विषयबस्तु र जनजीविकाको सवालमा अझै पनि आवाज उठाउनु पर्ने आवश्यक रहेको बताउनु भयो । पत्रकारहरूले आवाज उठाएकै कारण साइपाल गाउँपालिकाका धेरै सवालमा त्यहाँका जनताले राहत महसुस गरेको बताउँदै तामाङले अझै पनि दूर दराजका समस्याको उजागर गर्न आवश्यक रहेको र त्यो काम प्रेस चौतारीले गर्ने छ भन्ने विश्वास रहेको बताउनु भयो । जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्दै उपाध्यक्ष तामाङले बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ ।
प्रेस चौतारीका केन्द्रीय सदस्य तथा बझाङ ईन्चार्ज रमेश केसीले देशमा जुनसुकै परिवर्तन आए पनि पत्रकार तथा सञ्चारकर्मीको दैनिकीमा कुनै परिवर्तन नआएको र सञ्चारकर्मी तथा पत्रकारको सुरक्षाको सवालमा राज्य संवेदनशील नभएको बताउनु भयो । पछिल्लो पुस्ताको पत्रकारिताकाे अवस्था बारे चिन्ता व्यक्त गर्दै केसीले पत्रकारहरूले न्युनतम पत्रकारिताको आचार संहिता पालना नगरेकोले आम श्रोता दर्शक तथा पाठकको पत्रकारहरू प्रति हेर्ने दृष्किोण फरक रहेको बताउनु भयो ।
फलफूल वितरणका क्रममा अग्रज पत्रकार वसन्त प्रताप सिंहले पत्रकार तथा सञ्चारकर्मी जनताको नजिक हुनुपर्ने र उनीहरूका दैनिक जन जीविकाका सवालमा कलम चलाउनु पर्ने धारणा राख्नु भयो । अहिले जिल्लामा सबै भन्दा बढी प्रेस चौतारीका क्रियाशील पत्रकार रहेको स्मरण गराउँदै सिंहले आम जनमानसका सवाल र सामाजिक रुपान्तरणका लागी अझै चौतारीको टिम सक्रिय हुनुपर्ने बताउनु भयो ।