बैतडी – कैलाली, कञ्चनपुर लगायत विभिन्न ठाउँमा ठगीधन्दा गर्दै आएका दार्चुलाका एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारेर ठगीधन्दा गर्दै आएका दार्चुलाको लेकम गाउँपालिका १ का ३५ बर्षीय पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका भगौडा समेत रहेका भट्टले विभिन्न संघसंस्था हाकिम भन्दै उनले विभिन्न ठाउँमा डर,त्रास, धम्की देखाएर ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई बिहीबार धनगढी उपमहानगरपालिका वडा नं ३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन् ।
पाँच वर्षदेखि संगठित रुपमै विभिन्न अपराधमा संलग्न रहेको उनलाई आरोप लागेको छ । भट्टले खास गरेर महिलाहरुलाई नजिक बनाएर अश्लिल भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै ठगी गर्दै आएका थिए । उनले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौ महिलाहरुलाई ठगी गरिसकेका छन् । भट्टबाट पीडित भएकाहरुलाई उजुरी दिन समेत प्रहरीले आग्रह गरेको छ । प्रमाण सहितको जाहेरी दरखास्त दिन कैलाली प्रहरीले आग्रह गरेको हो ।