काठमाडौं ; त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएका छन्। लामो समयदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन गराउने तयारीमा त्रिवि पनि जुटेको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आगामी फागुन १४ गते नै निर्वाचन गराउने गरी त्रिवि लागिपरेको जानकारी दिए। धानमन्त्रीले पनि तयारी गराउनु भनिसक्नु भएकोले फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने तयारी छ,।उनले यसैअनुसार सबै क्याम्पसलाई तयारी गर्न जानकारी गराइसकेको बताए। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्। त्रिवि क्याम्पसमा १४ वर्ष अर्थात २०६५ सालयता नियमित तवरबाट स्ववियु निर्वाचन हुन सकेको छैन।
त्रिविले ०६५ सालअघिसम्म शैक्षिक क्यालेन्डरमा प्रत्येक २÷२ वर्षमा फागुन १४ गते चुनाव गराउने कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो। विसं २०६५ चैत ६ गतेपछि एकैपल्ट ८ वर्षमा विसं २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यतिवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्न राज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा ९ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले त्रिविले समयमा स्ववियु निर्वाचन गर्नुपर्ने र आफूहरू तयारीमा रहेको बताए। उनले भने, ‘यही फागुनमै स्ववियु निर्वाचन गर्ने तयारीमा हामी छौँ, हाम्रो संगठन र पार्टीका नेता पनि सकारात्मक छन्, त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेरहद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार छौँ।’ नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले तोकिएकै मितिमा स्ववियु निर्वाचन गराउन माग गरेको छ। चुनाव गराउन माग गर्दै सोमबार त्रिविको उपकुलपतिलाई ज्ञापनपत्रसमेत बुझाएको छ।
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले पनि निर्वाचन गर्न संगठन तयार भएको बताइन्। त्रिविले फागुनमै स्ववियु निर्वाचन गराउनुपर्ने उनको माग छ। नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पराजुलीले स्ववियु निर्वाचनको लागि त्रिविमा आमरण अनशनसमेत बसिसकेको बताए। ‘त्रिविले अब समयमै निर्वाचन गराउनु पर्छ, हामी आतुर छौँ,’ उनले भने। समयमा स्ववियु निर्वाचन नगरी त्रिविबाटै सक्षम विद्यार्थी विस्थापित गर्ने खेल भएको उनको आरोपसमेत छ।