मकरराज धामी, बझाङ : बझाङको थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक गरिएको छ । युएमएनको आर्थिक सहयोग र दलित सहयोग समाजको साझेदारीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन गरिएको हो । सडक नाटक मार्फत हाम्रो समाजमा भई रहेका हिंसा र त्यसको न्यूनीकरणका लागी भइरहेको पहल तथा निराकरणका लागी स्थानीय जनप्रतिनिधिले खेल्नु पर्ने भूमिकाको विषयलाइृ जोड दिइएको छ । यसका साथै समुदायमा मानसिक स्वास्थ्य स्वस्थ नभएका मानिसलाई हेर्ने दृष्टिकोण र मानसिक रोग बाट बच्ने उपाय लगायतका विषय सडक नाटक मार्फत देखाइएको छ ।
नाटकमा सानै उमेरमा हुने बालविवाहका कारण उमेर पुग्ने बेला सम्म घरबार विहीन हुनुपर्ने अवस्था आएकोले यस तर्फ सचेत हुनुपर्ने र सचेतनामूलक कार्यक्रम मार्फत परिवर्तनको पहरेदार बन्नुपर्ने देखाएको छ । सडक नाटक मार्फत समाजमा महिला हिंसाका घटना धेरै भए पनि कानुनी उपचार खोजे गाउँ समाजमा हेला पर्ने, समाजको हेर्ने दृष्टिकोण फरक हुने हुँदा कानुनी उपचारका लागी अझै पनि खुल्न नसकेको अवस्थाको चित्रण गरिएको छ ।
यस्तै मानसिक रोगी भएका मानिसहरुलाइृ हेला गर्ने उपचारमा ध्यान नदिने हुँदा बेवारिसे भई हिडने गरेका कारण उनीहरूको स्याहार र उपचारमा ध्यान दिए मानसिक रोग पनि निको हुन्छ भन्ने सन्देश दिइएको छ । नाटक मार्फत सबैले मानसिक स्वास्थ्यमा विषयमा गम्भीर भई उपचारमा ध्यान दिन आग्रह गरिएको छ । युएमएनको आर्थिक सहयोग र दलित सहयोग समाजको आयोजनामा थलारा गाउँपालिकाको वडा नं. ४ र ५ त्यसै गरी बुगंल नगरपालिकाको वडा नं. १,३ र ४ मा सडक नाटक देखाइएको दलित सहयोग समाज अन्तर्गत मानसिक स्वास्थ्य परियोजना कार्यक्रमका संयोजक विस्ना बमले जानकारी दिनु भयो ।