मकरराज धामी -मंसिर २० बझाङ !
बझाङको केदारस्युँ गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केदारस्युँ गाउँपालिकाको आयोजना र प्रगतिशील युवा समाज, वर्ल्ड भिजनसँगको साझेदारीमा पालिका भित्र भई रहेका लैङ्गिक हिंसाका घटना र तिनको समाधानका लागी पालिकाले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल भएको छ ।
कार्यक्रमका सहभागीले समाजमा महिला हिंसाका घटना धेरै भए पनि कानुनी उपचारका लागी अझै पनि खुल्न नसकेको बताएका छन् । आफूमाथि हिंसा भई रहे पनि गाउँ समाजमा हेला पर्ने भएकाले र समाजको हेर्ने दृष्टिकोण फरक हुने हुँदा खुलेर प्रतिकार जनाउन नसकेको बताएका छन् । बढी जसो श्रीमानले श्रीमती माथि हिंसा गर्ने गरेको पाइएको छ । सानै उमेरमा बिहे हुने गरेका कारण विवाह दर्ता नहुने र विवाह दर्ता नभई नागरिकता बनाउन नमिल्ने भएका कारण हिंसा पीडितले न्याय खोज्न सकस हुने गरेको सहभागीको भनाई थियो ।
यसरी हिंसामा परेकाहरूलाई खाना र बस्नको समस्या हुने गरेका कारण आय आर्जनका कार्यक्रम मार्फत सहयोग गर्न सके उनीहरूको जीविका चलाउन सहज हुने उनीहरूको भनाई छ । गाउँघरमा हुने धेरै जसो हिंसाका घटना बालविवाहका कारण भएकोले यस तर्फ सचेत हुन फिया नेपाल बझाङका जिल्ला संयोजक सिता सिंहले बताउनु भयो । सानै उमेरमा हुने बालविवाहका कारण उमेर पुग्ने बेला सम्म घरबार विहीन हुनुपर्ने अवस्था आएकोले यस तर्फ जनप्रतिनिधिले सचेत हुनुपर्ने र सचेतनामूलक कार्यक्रम मार्फत परिवर्तनको पहरेदार बन्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रमका सभा अध्यक्ष मनीषा धामीले लैङ्गिक हिंसा न्यूनीकरण र सभ्य समाज निमार्णका लागी सबैले सहयोग गर्न अनुरोध गर्नुभयो । आफू पनि हिंसा पीडित भएकाले महिला सवाल र महिला हिंसाका विषयमा सधैँ चनाखो हुने गरेको बताउँदै धामीले समाजमा बढी जसो घरेलु हिंसाका घटना देखिने गरेकोमा आगामी दिनमा कुनै पनि हिंसा भए गरेको सुन्न र देख्नु नपर्ने गरी लाग्न सबैलाई अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा उठेका सवालको जवाफमा उपाध्यक्ष धामीले हिंसा पीडितहरूका विषयमा प्रत्येक वडाका वडाध्यक्षहरू सँग तथ्यसङ सङ्कलन गराई आवश्यकताको आधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गर्नु भयो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, वडा वडाबाट सहभागी महिला, स्थानीय बासिन्दा, पत्रकार लगाएको सहभागिता रहेको थियो ।