बैतडी । बैतडीका अधिकांश विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा किशोरीहलाई समस्या हुने गरेको छ । महिनावारी भएको समयमा विद्यालयले किशोरीलाई प्याड उपलब्ध गराउने भएपनि अधिकांश ठाउँमा प्याड व्यवस्थापनको समस्या किशोरीहरूले भोगिरहेका छन् ।महिनावारी भएको समयमा विद्यालयबाट प्याड पाइने भए पनि प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने ठाउँ नभएको डिलाशैनीस्थित सरस्वती मावि नानराकी छात्रा अनुष्का भट्टले बताइन् । ‘महिनावारीको बेला विद्यालयबाट प्याड पाइन्छ तर फेर्ने र फाल्ने ठाउँ नै हुदैन’ उनले भनिन्, ‘यसले हामीलाई सास्ती भएको छ ।’
प्रयोग गरेको सेनेटरी प्याड चारर चार घण्टामा फेर्नुपर्ने भए पनि छात्रामैत्री शौचालय नहुँदा विद्यालयमा अध्ययन गर्ने किशोरीहरूलाई समस्या हुने गरेको छ । प्याड फेर्न र प्रयोग गरेको प्याडलाई व्यवस्थापन गर्न साह्रै समस्या हुने गरेको दुर्गा मावि सिमारकी छात्रा सुस्मिता बोहराले बताइन् । ‘छात्रा मैत्री शौचालयहरू विद्यालयमा छैनन् । शौचालयहरू फोहोरले भरिएका हुन्छन् । पानीसमेत हुँदैन, उनले भनिन्, ‘हामीलाई महिनावारी भएको बेला धेरै समस्या भोग्नुपर्छ । बीचमै विद्यालय छोडेर आउनुपर्ने अवस्था पनि छ ।’
प्याड व्यवस्थापनका लागि आवश्यक संरचना निर्माण नहुँदा छात्राहरूलाई समस्या हुने गरेको जगदम्बा मावि खलिगाडकी छात्रा सरिता जोशीले बताइन् । महिनावारी सरसफाइका विषयमा थाहा भए पनि प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या भएको छ । उनले भनिन्, ‘महिनावारीको प्याड फेर्न र प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा हामीहरूलाई समस्या छ । यसले पढाइमा बाधा पुग्ने गरेको छ ।’
अधिकांश विद्यालयमा छात्राहरूले यो समस्या भोगिरहेको वीरेन्द्र मावि शाहीले बैतडीकी शिक्षिका शान्ति चन्दले बताइन् । यसले छात्रालाई मात्र नभएर महिला शिक्षकहरूलाई पनि समस्या हुने गरेको उनले बताइन् । महिला शिक्षकहरू त जसरी तसरी व्यवस्थापन गर्ने भए पनि छात्राहरूले यसले धेरै समस्या भोगिरहेका उनको भनाइ छ । विद्यालय व्यवस्थापनको कमजोरीकले दुःख पाइरहेका उनले बताइन् ।
बैतडीका विभिन्न स्थानीय तहमा रूपान्तरण कक्षामार्फत महिनावारी सरसफाइका बिषयमा छलफल हुने गरेको छ । किशोरकिशोरी समूहमा हुने छलफलमार्फत सेनेटरी प्याडको प्रयोग र यसको व्यवस्थापनका विषयमा जानकारी दिने गरिएको सहजकर्ता हरू भट्टले बताइन् । यी कक्षाहरूमा हुने छलफलबाट आफूहरूले विद्यालयमा समेत आवाज उठाउने गरेको उनले बताइन् । उनले भनिन्, ‘अधिकांश विद्यालयमा प्याड व्यवस्थापनमा समस्या भएकोले व्यवस्थापन गर्ने ठाउँ बनाउन आग्रह गरेका छौं ।’ सेनेटरी प्याड व्यवस्थापनका लागि गाउँपालिकाभरिका विद्यालयहरूको अवस्थाका बारेमा जानकारी लिने र त्यसपछि आवश्यक योजना बनाउने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । ‘हामीले छात्राहरूको समस्या थाह पाएका छौं, उनले भने, ‘यो समस्या समाधानका लागि पहल गर्छौं ।’