बैतडी ; अनेरास्ववियु बैतडीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बाजुराका अनेरास्ववियुनेता चेतनदिप ऐडीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै ५ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो ।
प्रमुख जिल्ला अधिकारी मार्फत पठाइएको ध्यानाकर्षण पत्रमा किटानी जाहेरी दिएकाहरुलाई पक्राउ गरी कारवाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिइ मृतक ऐडीका छोराको उच्च शिक्षा सम्म निशुल्क पठनपाठनको व्यवस्थापन गर्नुपर्ने, चेतन ऐडीको न्यायका लागि आन्दोलन गर्दा पक्राउ परेकाहरुमाथि लगाएको मुद्दा खारेजी गरी रिहाइ गर्नुपर्ने, ऐडीलाई शहीद घोषणा गर्नुपर्ने र चेतन ऐडीको स्मृतिमा पार्क निर्माण गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ध्यानाकर्षण पत्रमा चेतन ऐडीको हत्यामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारवाही गर्नुपर्ने र अन्यथा अनेरास्ववियुले जस्तोसुकै कदम चाल्ने उल्लेख गरिएको अनेरास्ववियु बैतडीका अध्यक्ष नरेन्द्र साउँदले जानकारी दिए ।
मंसिर ४ गते राति चुनावकै दिन अनेरास्ववियुका नेता चेतनदीप ऐडीमाथि कुटपीट भएको र उनको उपचारका क्रममा मृत्यु भएको थियो ।