ओमप्रकाश पाण्डेय । हामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा छौँ । निर्वाचनका लागि उम्मेदवारले सकेसम्मको प्रचार गरिसकेका छन् । विकास र समृृद्धीका नारा समेटिएका दलहरूका घोषणापत्र सार्वजनिक भएको धेरै भइसक्यो ।
देशमा कयौं निर्वाचन भए, तर अझै पनि किन नेता ? किन निर्वाचन ? भन्नेहरू पनि छन् । सबै नागरिकको विचार बुझ्दै अनि हरेकको विचारमाथि छलफल गर्दै निर्णय गर्ने अनि देश चलाउने कुरा व्यावहारिक रुपमा गाह्रो हुने भएकाले जनतालाई आफ्ना जनप्रतिनिधि चुन्ने अर्थात छान्ने अधिकार आम नागरिकलाई दिन निर्वाचनको अवधारणा आएको हो भन्नेमा म सहित धेरैको सहमति छ ।
यसबारेमा अझै पनि धेरै नागरिकलाई बुझाउन जरुरी छ । जुन काम सञ्चारमाध्यमले मात्रै गर्न सक्छन् । आमससञ्चार माध्यमले नागरिकलाई बुझ्ने गरि राजनीति, निर्वाचन, मतदान र नागरिक अधिकारका बारेमा बुझाउनुपर्ने छ । समाजका सम्पूर्ण बिषयलाई जस्ताको तस्तै छर्लङ्ग देखाइदिने भएकाले नै पत्रकारितालाई समाजको ऐना अनि पत्रकारिता राज्यको चौंथो अङ्ग पनि भनिन्छ । तर, आजको पत्रकारिताले समाजमा पहरेदारको भूमिका खेल्न सकेको छ त ? प्रश्न उब्जिएको छ । अझ निर्वाचनको समयमा सत्य, तथ्य सूचना र जानकारी दिनुपर्ने भूमिका आमसञ्चार माध्यमको बढी छ । कसको घोषणापत्र कस्तो छ ? कसको राम्रो ? कसको चुनौतीपूर्ण छ ? जस्ता बिषयमा निष्पक्ष र पुर्वाग्रह विना नै जानकारी दिनु सञ्चारमाध्यमको धर्म हो । आम नागरिकले सञ्चार माध्यमबाट पनि यस्तै अपेक्षा गर्ने गरेका छन् ।
आमसञ्चार माध्यमबाट आएका बिचार, समाचार हेरेर, पढेर, सुनेर नै नागरिकले आफ्नो बिचार, धारणा बनाउन सक्छन् । तर, आम सञ्चारमाध्यम नै निष्पक्ष नभए आम नागरिक र मतदातालाई बिचार र धारणा निर्माण गर्न समस्या हुन्छ ।
पत्रकारिता जगतले सँधै सत्य र निष्पक्ष समाचार र विचार दिनुपर्छ । सिद्धान्तः राज्यका तीनवटा अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले गरीरहेका कामबारे जनतालाई जानकारी गराउने मात्र नभइ ती अङ्ग आफ्नो दायित्व र कर्तब्यबाट विमुख भएमा झक्झक्याउने काम पत्रकारिताको हो । यसले कसैको पक्ष वा विपक्ष लिनु हुँदैन । आम नागरिकले पनि आमसञ्चार माध्यमबाट यहि नै अपेक्षा गरेका हुन्छन् ।
तर, अहिलेको अवस्थामा थोरै बाहेक सञ्चारमाध्यम निष्पक्ष हुन सकिरहेको देखिँदैन । धेरै पत्रकार र सञ्चारमाध्यम आआफ्नो निकट रहेका बिचार र सिद्धान्तअनुसारका उम्मेद्वारको प्रचारमा लागेको पाइन्छ । आफू निकटलाई मात्रै राम्रो भन्ने अरुलाई आलोचना गर्ने, निकटकालाई फाइदा र टाढाकालाई घाटा पुग्ने गरी समाचार र विचार आइरहेको पाइन्छ यसले समग्र पत्रकारितलाई नै बद्नाम गरिरहेको छ ।
सबै सञ्चारमाध्यमले पत्रकारिताको मुल मर्मलाई त्यागे भन्न खोजेको होइन । तर केही सञ्चारमाध्यमले दलगत, नेतागत अझ गुटगत रुपमा एक पक्षीय समाचार अनि विषयवस्तु जनता सामु पस्किँदा नागरिकलाई अलमल भएको छ एकातिर भने अर्कोतिर पत्रकारिता क्षेत्रप्रतिको विश्वसनीयता गुमिरहेको छ । त्यसले कतै आम नागरिकले सञ्चारमाध्यमसँग गरिरहेको आशा निराशामा परिणत त भइरहेको छैन ? भन्ने प्रश्न खडा भएको छ । त्यसैले यस्तो समयमा पत्रकार संयमित र जिम्मेवार रहनुपर्छ ।
जनताले निर्वाचनबाट के अपेक्षा गरिरहेका छन् ? नागरिकले भोलिका दिनमा विकास पाउने आशा गरी रहदा ती आशाका भाषा बोल्ने उम्मेदवार र नेताहरुलाई प्रश्न सोध्ने, जवाफदेही बनाउने र कसैप्रति पुर्वाग्रह नगराख्ने स्वतन्त्र पत्रकारिता गर्नुपर्छ । उम्मेदवार वा दल विशेष सामग्री प्रकाशन, प्रसारण गर्दा जनताप्रतिको दायित्व भुल्नु हुँदैन । मतदानका तरिका, राजनीतिक दलका प्रतिवद्धता, पहिले गरेका काम अनि नयाँ प्रतिवद्धतालाई तोडमोड नगरी आम समुदाय माझ पस्कनु नै आमसञ्चार माध्यमको प्राथमिकता र पेशागत धर्म दुबै हो ।
पत्रकारिता जगतले लोकतन्त्रको स्थापना, जगेर्ना र विकासका लािग निर्वाह गरेको भूमिका शब्दमा तारिफ गर्न सकिँदैन । सँगै प्रश्न के हो भने अहिलेको पत्रकारिता जगतले साँच्चिकै त्यो मर्यादालाई सम्हालेको छ त ? अब आम सञ्चारमाध्यम र पत्रकारले एक पटक आफैँलाई प्रश्न गर्नुपर्ने भएको छ । यो लेख सिआइएन खबरबाट साभार गरिएको हो ।