बखते र तादी

Image

थैलीको मुजाजस्तो मुहार
हिउँदमा फुलेको काँसजस्तो कपाल
नर्कटजस्तो शरीर
कम्मरमा बाँधेर नलीपाटको पटुकी
तादीमा जाल खेलिरहेछ
बखते, उर्फ बखतबहादुर दनुवार

बाउले अंशमा दिएको जालजस्तै
जीर्ण छ उसको सपना
जसरी भ्वाङ परेको जालमा
परेर पनि उम्कन्छन् माछाहरू
ठीक त्यसैगरी उम्किएका छन्
अवसरका असलाहरू बखतेको जिन्दगीबाट

जाल खेल्दै
दुवाली थुन्दै
ढडिया थाप्दै
कति माइल नाप्यो होला
तादीको बगर बखतेका पैतालाले ?

बखते
हरेक हिउँदमा बनाउँछ सपनाको झुप्रो
र हरेक बर्खामा बगाउँछ तादी

तादी !
के को रिस हँ, तँलाई
बखतेको झुप्रो सित ?
के को बदला
भर्खरै जुनुमायाले उमारेकी फूलहरूसँग ?
किन निहुँ खोज्छस्
बखतेको निम्छरो रहरसँग ?

तादी !
सक्छस् बगाउन ?
बगाइदे !
बखतेको श्रमले ठडिएका दरबारहरू
जसलाई उभिएर
नियाल्नसमेत सक्दैन बखते

तादी !
तेरो पाषाण छाती फुटाएर
अलिकति छेउमा उमारेको
खुसी पनि देख्न सकिनस् तैँले ।
तेरो उन्माद !
तेरो अहम् !
तेरो अत्याचार !
किन खन्याउँछस्
हरेक बर्खामा बखतेहरूमाथि ?

तादी !
तँलाई मन पर्दैन हो ?
बखतेको ओठमा मुस्कान ?
तँलाई राम्रो लाग्दैन हो ?
तेरै छातीमा मुस्कुराएका फूलहरू ?

मलाई
अचेल यस्तो लाग्छ
तादीहरू
सामन्तका मतियार हुन् ।

० ० ०

यादहरूमा आमा 

आमा !
किन किन
तिमी यतै कतै छौ जस्तो मात्रै लाग्छ !
आँगनमा उस्तै छ
तिमीले हरेक बिहान पूजा गर्ने तुलसीको मोठ
पानी नपाएर खङ्ग्रङ्ङ सुकेको छ तुलसी
सायद तिमी नभएको
थाहै छैन तुलसीलाई
र त पर्खिरहेछ एउटा वसन्त
मलाई मात्रै हैन आमा
तुलसीको मोठलाई पनि तिम्रो अभाव छ ।
माली गाई ड्वाँ………गरेर कराउँदा
तिमी घाँसको भारी बोकेर आएजस्तो लाग्छ
तिमी नभएपछि
माली गाईले हरियो देख्नै पाएको छैन
पोषिलो खानै पाएको छैन
कोही नयाँ मान्छे आउँदा
उसैगरी कराउँछे मालीगाई
र सोध्छे उसकै भाषामा
तिमीले बज्यैलाई देख्यौ ?
म मात्रै हैन आमा
माली गाई पनि रोएकी छे तिमीलाई सम्झेर ।
लुरी बाख्रीले जुम्ल्याहा पाठा पाई
तर, दूध चुस्नै दिन्न आफ्नै सन्तानलाई
मसँगै खेल्न खोज्छन् लुरीका सन्तान
धोएर कसैले सुकाएको फरिया हेरेर
म्याँ गर्छे लुरी बाख्री
नुन र पिठो मिसाएर दिने कोही छैन
चर्न जाँदा पुच्छर हल्लाउँदै
गोठाल्नीहरूको छेउमा आउँछे
र उसैगरि म्याँ गरेर कराउँछे
उसलाई थाहा छ
त्यो गोठाल्नी तिमी होइनौ भन्ने
म मात्रै हैन आमा
लुरी बाख्री पनि टुहुरी भएकी छे तिमी नहुँदा ।
कसैले भने
तिमी देउताको घरमा गयौ रे !
कसैले भने
तिमी आकाशमा बस्छ्यौ रे !
मलाई थाहा छैन
देउताको घर कहाँ हो ?
मलाई थाहा छैन
आकाश जाने बाटो कुन हो ?
मलाई यति थाहा छ
आमा तिमी हामीसँग छैनौ ।
तर पनि आमा !
किन किन
तिमी यतै कतै छौ जस्तो मात्रै लाग्छ  ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन