काठमाण्डौ – सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थप पहल गर्न आग्रह गर्नुभएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको बैठकमा संसद् अवरोध हटाउने बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । बैठकमा नेताहरूले प्रधानमन्त्री देउवालाई प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग संसद् चल्न दिने सम्बन्धमा संवाद गर्न सुझाउनुभएको उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष ओलीसँगको संवादपछि हुने प्रतिक्रियाका बारेमा गठबन्धन दलको बैठकमा थप छलफल गरेर अघि बढ्ने बैठकमा सहमति भएको छ । एमालेले आफ्ना केही माग राखेर संसद्को चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठकमा अवरोध गर्दै आएको छ ।बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य चुनावमा गठबन्धनका उम्मेदवारलार्ई विजयी गराउने सम्बन्धमा समेत छलफल भएको थियो । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावमा गठबन्धन दलले साझा उम्मेदवार तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए ।