काठमाण्डौ – कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।
तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सक्नुभएन । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गर्नुभयो ।अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । उज्यालो बाट