कर्ण धामी बझाङ: हिँउदे बर्षा नहुँदा बझाङका लेकाली भेगमा गहुँबाली सुकिसकेको छ । हिउँदे वर्षा नहुँदा सिँचाई सुविधा नभएका खेतहरुमा गहुँबाली सुकेका छन । आकाशे पानीको भरमा खेती गर्ने किसानलाई गहुँबाली सुकेपछि भोकमरी हुने चिन्ताले पिरोलेको छ । बर्षा नहुँदा खेत समेत बाँझै रहेको र गहुँवाली सुक्दै गएपछी भोकमरी हुने चिन्ता छाएको थलारा गाँउपालिका २ का शेर बहादुर खातीले दुखेसो गरे । वडाका बगाडा टोल, कफलकाडा टोल, धनाडा टोल, कात्रा टोल बेराडी टोल, एनबाडा टोल र तोतिबाडा लागाएतका टोलमा करिब ३ सय परिवारले लगाएको गहुँबाली बाली सुकेको छ । उनले भने हामी आकासे पानीको भरमा खेती गर्छौ । गतबर्ष पनि पानी परेन । पानी नपरेर खडेरीले खेतको वालिनानी सबै सकिदियो । घरखर्चको जोहो गर्न भारत गयौँ । गएको एक महिना नपुग्दै लकडाउन भएर घर फक्र्यौ । सिँचाई हुने ठाँउमा गहुँबाली पाकी सक्यो । हामो ठाउँमा उम्रेको पनि सिँचाइ नहुँदा सुकेर गएको छ । अहिलेसम्म बर्षाद भएको छैन । थलारा गाउँपालिका भरिका अधिकांश खेतीयोग्य जमिन वर्षा नहुँदा बाझै रहेको उनको भनाई छ ।
अघिल्ला वर्षहरूमा यति बेला हराभरा देखिने खेतबारी यो वर्षभने खडेरीले उजाड दिएका छन । वर्षा नभएपछि गहुँबाली मात्र नभएर तरकारी र फलफूलमा समेत असर परेको छबिस पाथिभेरा गाउँपालिकाका मान बहादुर सिंहले बताए । उनले भने फलफूलका बिरुवामा फूल फुल्ने समयमा पानी आवश्यकता पर्छ । पानी नै नपरेपछि फलफूलको उपादनमा समेत कमी आउने देखिन्छ । लगातारको खडेरीले भोकमरी हुने सम्भावना बढेपछि जिल्लाका अधिकांश ठाउँका युवा रोजागारीका लागि भारतको धार्चुला जान थालेका छन् । हिउँदे बालीले परिवार पाल्न नसकिने भएपछि रोजगारीका लागि भारत जानुपरेको छ । असोज देखि राम्रोसँग पानी नपरेकाले ग्रामीण क्षेत्रमा भोकमरीको चिन्ता बढेकाले अधिकांश युवा रोजगारीको खोजीमा भारततिर जान थालेका उनको भनाई छ ।
जिल्ला कृर्षि ज्ञान केन्द्र बझाङको तथ्याङ्क अनुसार जिल्लामा १० हजार ४ सय ५० हेक्टर जमिनमा गहुँबाली उत्पादन हुने गरेको छ । जिल्लाका सुर्मा, साइपाल, मष्टा, छविसपाथिभेरा र वित्थडचिर गाउँपालिका खाद्य असुरक्षाकोे तथ्याङमा रहेको छ । सिँचाइ सुविधा नभएको ठाउँमा गहुँबाली सुकेको जिल्ला कृर्षि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताए । जिल्लाका लेकाली क्षेत्रमा गहुँबाली सुकिसकेको छ । यो वर्ष गहुँ उत्पादनमा भारी गिरावट आउने सम्भावना छ । सिँचाइ योग्य जमिनमा पनि ४ देखी ५ प्रर्तिशत सम्म उत्पादन ह्रास हुन सक्ने देखिन्छ । बझाङमा अरु जिल्ला भन्दा बाँझो जमिन छोड्ने प्रचलन कम रहेको भएपनि बर्षेनि १२ हजार टन खाध्यान्न अभाव हुने गरेको छ ।