काठमाडाै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटवार्ता सकिएको छ । छलफलमा सहभागी नेपाल पक्षीय नेता रघुजी पन्तका अनुसार छलफल सकारात्मक भए पनि दुवै पक्ष आ-आफ्नै अडानमा छन् । आन्तरिक विवादका कारण चार महिनादेखिको संवादहीनता तोडेर ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भएको थियो । २८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान छ ।
नेपाल पक्षलाई खबर नै नगरी त्यस दिन बालुवाटारमा अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्नेदेखि विधान संशोधनसम्मका निर्णय गरेको थियो । उक्त निर्णय सच्याउनुपर्ने माधव नेपाल पक्षको सर्त छ । उनीहरू २ जेठ २०७५ कै अवस्थामा एमाले हुनुपर्ने तर्क गरिरहेका छन् ।
त्यसैगरी, वामपन्थी एकताको सरकारलाई निरन्तरता दिनुपर्ने तर त्यसका लागि ओलीले प्रधानमन्त्रीबाट त्याग गर्न सक्नुपर्ने मत पनि राखेका छन् । आन्तरिक पार्टी एकताका लागि ओलीले भूमिका खेल्न नसकेको भन्दै आक्रोशित खनाल–नेपाल समूहले ४-५ चैतका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । त्यसको अघिल्लो दिन ओलीले केन्द्रीय सदस्यलाई चियापानका लागि बालुवाटार निम्ता गरेका छन् ।