पाेखरा:- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार गतिशील ढंगले काम गरेकाले आफूमाथि षड्यन्त्र भइरहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले आफूमाथि शारीरिक आक्रमण हुनसक्ने भन्दै ज्यानसम्म जान सक्ने बताए । `सम्पूर्ण रूपले ममाथि प्रहार भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने ।
उनले आफूलाई केही भइहाले पनि देशको भविष्य तलमाथि हुन नदिन कार्यकर्तालाई सुझाए । `मलाई केही तलमाथि भए पार्टी छ, आन्दोलन छ । देशको भविष्य अन्दकारमा जान दिनुहुँदैन,´ उनले भने । आफूविरुद्ध देशभित्र र बाहिरका शक्तिले षड्यन्त्र चलिरहेको पनि उनले जिकिर गरे ।
`हामी राष्ट्रलाई सार्वभौम हैसियतमा विश्वसामु चिनाउन चाहन्छौं । देशको भौगोलिक अखण्डतालाई जोगाउँछौं,´ उनले भने, `यो कुरा व्यवहारले छर्लङ्ग देखियो । जनताको उन्नति देख्न नचाहनेलाई, आफ्ना स्वार्थका लागि राष्ट्रिय स्वार्थलाई तिलान्जली दिन चाहनेलाई हाम्रो व्यवहार सहन सकेनन् ।´ कृषिको आधुनिकीकरणतर्फ आफू नेतृत्वको सरकार क्रियाशील रहेको प्रधानमन्त्री ओलीले बताए । खोटरहित उद्देश्य पूरा गर्न आचरण, विचार र शैली पनि त्यहीअनुरूप हुनुपर्ने बताए ।