बझाङ — बझाङको जयपृथ्वी नगरपालिका–४ विउराडीका ७५ वर्षीय धनु पाध्या र उनकी ७० वर्षीया श्रीमती दमका बिरामी छन् । वर्ष दिनदेखि ऋण सापट गरेर खाँदै आएका उनीहरूको घरमा अन्न सकिएको छ । उपचार, खाद्यान्नलगायतमा गरी एक लाख रुपैयाँभन्दा बढी ऋण लागेको छ । उधारो तिर्नु नपर्ने पसल छैन । ‘अब त ऋण र उधारो दिनेले पनि पत्याउन छाडिसके । हाम्रो उद्धार गर्नुपर्यो सर,’ जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहरालाई हात जोड्दै धनुले आग्रह गरे । धनुले कार्यालय प्रमुख बोहरासँग कुनै आर्थिक सहयोग वा चन्दा भने मागेका होइनन् । आफूले हुलाक बचत बैंकमा जम्मा गरेको रकम मागेका हुन् । पाध्याले बुढ्यौलीका कारण खेतीपातीको काम गर्न नसक्ने भएपछि चार वर्षअघि भएको सबै जग्गा बेचेर आएको नौ लाख रुपैयाँ हुलाक बचत बैंकमा जम्मा गरेका थिए । अन्य बैंकभन्दा ब्याज पनि राम्रो पाइने भएकाले बुढेसकालको गुजारा चल्ने सोचले उनले यसो गरेका थिए । तर, सोचे जस्तो भएन ।
एक वर्षयता उनी सातामा २/३ पटक डेढ घण्टा पैदल हिँडेर हुलाक कार्यालय पुग्छन् । आफ्नो रकम फिर्ताका लागि कर्मचारीलाई हात जोड्छन् । बुढेसकालमा आफूहरू बेसहारा भएको पीडा पोख्छन् । अनि कर्मचारीको ‘पैसा आएको छैन’ भन्ने जवाफ सुन्छन् र हरेक पटक बूढो ज्यान लतार्दै रित्तो खल्ती स्वाँ–स्वाँ गर्दै विउराडीको उकालो नाप्छन् । ‘ज्येष्ठ नागरिकलाई सयकडा सात (वार्षिक ७ प्रतिशत) ब्याज आउँछ, सबैले हुलाकमा जम्मा गर्दा राम्रो हुन्छ भने । ६० हजार जति ब्याज आए बूढाबूढीलाई खान पुगिहाल्ला । बुढेसकालमा बसिबसी खाउँला सोचेको थिएँ,’ धनुले भने, ‘यहाँ त आफ्नै पैसा पनि पाइएको छैन ।’
तलकोट गाउँपालिका ३ बस्टीकी केशु देवी रोकाया पनि साताको एकपटक हुलाक पुगेकै हुन्छिन् । गाउँकै सडक निर्माणको काममा मजदुरी गरी कमाएको ३० हजार रुपैयाँ उनले आपत्मा काम लाग्ने आशामा हुलाकमा बचत गरेकी थिइन् । घरमा बच्चाहरूको कापी किन्न, रासन र नुन–तेलको समस्या भएपछि उनले रकम झिक्न खोजेकी थिइन् तर अहिले पैसा छैन पछि आउनू भन्दै फर्काइयो । पैसा आयो कि भनेर बुझ्न १७ किलोमिटर टाढाको गाउँबाट जिपमा पटक–पटक सदरमुकाम चैनपुर आउजाउ गर्दा उनको ५ हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । ‘आफ्नै धनले आफैंलाई दुःख दियो । जतिचोटि गए पनि रित्तै हात फर्काउँछन् । हुलाकमा पैसा राखेर ठूलो गल्ती भएछ,’ उनले भनिन् ।
८ कक्षा पढिरहेका मस्टा गाउँपालिका–१ का १४ वर्षीय विशाल थापाले ५ कक्षा पढ्दादेखि नै बिदाको दिन माछा मारेर, खाजाको रकम बचाएर हुलाक बचत बैंकमा १० हजार रुपैयाँ जम्मा गरिसकेका थिए । उनलाई पनि पहिलेको बचत फिर्ता नहुनेमा चिन्ता लागेको छ । ‘अहिले हुलाकमा जाँदा बचत गर्न मिल्दैन भन्छन् । पहिला जम्मा गरेको रकम फिर्ता दिनुस्भन्दा पनि दिएका छैनन्,’ उनले भने ।
कसरी भयो हिनामिना
हुलाक बचत बैंकले आर्थिक वर्ष २०७०/७१ मा बझाङमा सेवा सुरु गरेको थियो । आकर्षक ब्याज पाउने विज्ञापनसहित हुलाकले बचत गर्न अनुरोध गरेपछि स्थानीय बासिन्दा खास गरी न्यून आय भएका, महिला, बालबालिका र ज्येष्ठ नागरिक यसतर्फ आकर्षित भए । पहिलो वर्षमै ३ करोड ४९ लाख ७८ हजार रुपैयाँभन्दा बढी जम्मा भयो । जब बचतकर्ताको भीड लाग्न थाल्यो । उनीहरूको बचतमाथि कार्यालय प्रमुखसहितका कर्मचारीले आँखा लगाउन थाले । तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले पहिलो वर्ष नै ७४ लाख रुपैयाँभन्दा बढी हिनामिना गरे । ‘कार्यालयको लेजरमा बचत गरेको भनेर देखाउँदा रहेछन् तर रकमचाहिँ आफैं राख्दा रहेछन्,’ जिल्ला हुलाक कार्यालय प्रमुख राजेन्द्र बोहराले भने, ‘हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने पैसा आफैंले राखेर बाहिर ब्याजमा लगाउनुका साथै घरजग्गा खरिद गर्दा रहेछन् ।’ बचत फिर्ता वा ऋण माग्न आए पनि खल्तीबाटै दिएर बैंक चलाउने गरेका कडायत र उपाध्यायले चार वर्ष (२०७०/७१ देखि २०७४/०७५ सम्म) जम्मा गरेको ५ करोड ७८ लाखमध्ये ४ करोड ९५ लाख रकम अपचलन गरेको पाइएको छ ।
उनीहरूका बारेमा थाहा पाएपछि बचतकर्ताले २०७५ अन्तिमतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे । अख्तियारको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक छानबिनमा कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले हचुवाका भरमा खाता व्यवस्थापन गरेको, दैनिक बैंकमा जम्मा गर्नुपर्ने रकम तहबिल (व्यक्तिकै जिम्मा) मा राखेर अपचलन गरेको र केन्द्रीय धरौटी खातामा जम्मा भएको रकमसमेत अपचलन गरेर उल्टै बचत बैंक घाटामा गएको विवरण पेस गरेको पाइएको थियो । तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर थापाले अख्तियारमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘जनताले जम्मा गरेको रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने निकायका कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले यहाँ व्यापक अनियमितता भएको देखिन्छ । सो सम्बन्धमा थप छानबिन गरी आयोगबाट कारबाहीको पहल होस् ।’
यही प्रतिवेदनका आधारमा आयोगको टोलीले बझाङ पुगेर छानबिन गर्दा कडायत र उपाध्यायले ४ करोड ९५ लाख अनियमितता गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गर्यो । छानबिनका क्रममा विशेष अदालतले २०७६ माघ २४ मा नियन्त्रणमा लिइएका अभियुक्तद्वयमध्ये तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख धरौटी लिएर १८ दिनपछि (२०७६ फागुन १२) रिहा गरेको थियो । विशेष अदालतको यो निर्णयप्रति भने हुलाकका कर्मचारी पनि आश्चर्यमा परेका छन् । ‘पाँच करोड भ्रष्टाचार गर्नेलाई २७ लाख धरौटी लिएर छोडिएको छ । कसरी यस्तो आदेश भयो, हामी अचम्ममा परेका छौं,’ हुलाक कार्यालय प्रमुख बोहराले भने ।
‘बचत के हुन्छ ?’
बचत रकम हिनामिना गरेका कर्मचारीको मुद्दा अदालतमा विचाराधीन छ । आरोपित धरौटीमा छुटेकै एक वर्ष नाघिसकेको छ । तर बचतकर्ताहरूको रकम के हुनेबारे कर्मचारी पनि अन्योलमा छन् । ‘सरकारी निकायमा जम्मा गरेको जनताको रकम सुरक्षा गर्ने जिम्मा राज्यको हो । बचतकर्ताको रकम तोकिएको ब्याजसहित फिर्ता गर्नुपर्छ भनेर हामीले पटक–पटक माथिल्ला निकायमा अनुरोध गरिरहेका छौं,’ कार्यालय प्रमुख बोहराले भने, ‘केन्द्रमा सम्पर्क गर्दा हिनामिना गर्ने कर्मचारीबाट असुल गरेर फिर्ता गर भन्छन् । हामीले कसरी गर्ने ?’ उनले २०७५ सालदेखि नै बचत बैंकको कारोबार अवरुद्ध भएकाले बचतकर्ता मर्कामा परेको बताए ।
जिल्लाका मात्रै होइन केन्द्रीय कार्यालयका कर्मचारी पनि रकम फिर्ताबारे अन्योलमा छन् । हुलाक सेवा विभागअन्तर्गतको केन्द्रीय धनादेश कार्यालय प्रमुख जानुका सुवेदीले बचतकर्ताले कहिले रकम फिर्ता पाउँछन् भन्ने यकिन नभएको बताइन् । ‘कर्मचारीले हिनामिना गरे पनि जनताको रकम फिर्ता गर्ने दायित्व राज्यको हो,’ उनले भनिन्, ‘हामीले यो रकम फिर्ता गर्नेबारेमा पटक–पटक हुलाक सेवा विभाग, सूचना सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा लेखेर पठाएका छौं । अर्थबाट कुनै जवाफ आएको छैन ।’ याे समाचार हामीले कान्तिपुर दैनिक बाट लिएका हाैँ ।