कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार पुनःगठन गर्न लागेका छन् । अर्को कुनै राजनीतिक उतारचढाव नभए आइतबारै पुनःगठनको तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । पुनःगठनमा मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी ओलीपक्षीय दुई मन्त्रीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपालनिकट तीन जनालाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
ओलीपक्षीय सामाजिक विकासमन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढालाई शनिवारै त्यसको जानकारी गराउँदै राजीनामा दिन आग्रह गरिएको छ । दुबैले राजीनामा नदिने बताइसकेका छन् । त्यसैले उनीहरुलाई बर्खास्त गरेरै मन्त्रिपरिषद् पुनःगठन गर्न लागिएको छ । मन्त्री रावलले आफूहरुलाई हटाउनेबारे मुख्यमन्त्री शाहीले जानकारी गराइसकेको पुष्टि गरे ।
मन्त्री रावलले आईतबार बिहानै सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् – कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।
नियुक्त हुने नयाँ मन्त्रीमा चन्द्रबहादुर शाही, करबीर शाही र अमरबहादुर थापा छन् । वरिष्ठ नेता नेपालले धेरै अघिदेखि चन्द्रबहादुर शाहीलाई भौतिक पूर्वाधार तथा निर्माणमन्त्री बनाउन आग्रह गर्दै आएका थिए । मुख्यमन्त्री शाहीले अटेरी गरेकैले नेता नेपालको समेत ग्रिन सिग्नलमा अविश्वास प्रस्ताव दर्ता गराइएको थियो । यो समाचार हामीले सिलापत्र डट कम बाट साभार गरेका हाैँ ।