बझाङ : साइपाल गाउँपालिकामा रहेको छार्पे खोला लघु जलविद्युत आयोजनाले काम गरेको पारिश्रमिक नदिएको भन्दै कामदारहरु आक्रोशित बनेका छन् । गत वर्षको पुष महिनामा निर्माण सुरु भएको ३ किलोवाट छार्पे खोला लघु जलविद्युतले १८ जना बढीले पारिश्रमिक नपाएका हुन् ।
३७ जनाले आयोजना निर्माणका क्रममा काम गरेकोमा केहीले आधा मात्रै पाएको र केही अझैंसम्म पुरै पारिश्रमिक नपाएको उनीहरुको गुनासो छ । साइपाल गाउँपालिका वडा नम्बर २ मा रहेको छार्पे खोला लघु जलविद्युत आयोजना निर्माणको काम गत वर्ष पुषबाट सुरु भइ गत जेठमा निर्माण सम्पन्न भएको थियो ।
आयोजनाले दुई हप्ता मात्रै विद्युत उत्पादन गरेको थियो त्यसपछि मेसिनमा खराबी आइ अहिले बन्द रहेको छ । प्रदेश सरकार र साइपाल गाउँपालिकाको संयुक्त लगानीमा छार्पे खोला लघुजलविद्युत आयोजना निर्माण भएको भए पनि पारिश्रमिक नपाएको श्रमिकहरुको गुनासो छ ।
आयोजनाका सचिव सुरेश धामीका अनुसार निकासा भएको रकमले विद्युत गृहको सामान खरिद गरिएको हुँदा पारिश्रमिक दिन नसकिएको जनाइएको छ । यता गाउँपालिकाले भने आयोजनालाई पुग्ने गरि रकम दिएको बताउदै आएको छ ।
कामदारहरुका अनुसार खर्च विवरण देखाउन आफूहरुले माग गरे पनि आयोजना समितिले देखाउन नमानेको बुझिएको छ । एक छाक टार्नकै लागि काम गरेको अहिलेसम्म पारिश्रमिक नपाउँदा आफूहरु निराश भएको साइपाल गाउँपालिका वडा नम्बर २ का श्रमिकहरु भरत बोहरा, रमेश धामी र मिनबहादुर बोहराले बताए ।