रायल प्राथमिक स्वास्थ्य केन्द्रमा एमविविएस डाक्टर बाट स्वास्थ्य सेवा दिईने
बझाङ : केदास्युँ गाँउपालिकाको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा सोमवार देखि एमविविएस डाक्टर बाट स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । हेल्थ असिस्टेन्ट र अहेवकोे भरमा चलिरहेको स्वास्थ्य केन्द्रमा सोमवार देखि एमविविएस डाक्टरले नियमित स्वास्थ्य सेवा दिने भएको छ । सरकारले प्रत्येक स्थानिय तहमा ५ सैयाको कोरोना अस्पताल निमार्ण गरे संगै विभिन्न स्थानिय तहले विज्ञापन आह्वान गरेका थिए । बझाङका १२ वटा स्थानिय तह मध्ये केदारस्यु गाँउपालिकाले एमविविएस डाक्टर पाएको रायल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डम्मर धामीले बताए । उनले भने स्वास्थ्य केन्द्रमा एमविविएसको दरवन्दी भएको भए पनि कसैले आउन मानेका थिएनन् । गाँउपालिकाले यहि असोज १ गते ७ दिने सुचना जारी गर्दै स्वास्थ्य तर्फको लागी १ जना एमविविएस, २ जना स्टाप नर्स र १ जना कार्यालय सहयोगीका लागी विज्ञापन आह्वान गरेको थियो । सोही विज्ञापन बाट डा. अरविन्द अधिकारी नियुक्त भएका छन ।
यस अघि हेल्थ असिस्टेन्ट र अहेवको भरमा स्वास्थ्य सेवा दिदै आएको स्वास्थ्य केन्द्रले एमविविएस डाक्टर पाउँदा स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग पुग्ने गाँउपालिकाका अध्यक्ष ईन्द्र भण्डारीले बताए । विशेषज्ञ डाक्टर पाएकाले अब भिडीयो एकसरे, एकसरे, प्रयोगशाला लगायतका रिपोर्ट हेर्न पनि सजिलो भएको र कम खर्चमै सर्बसाधारणले उपचार पाउने उनको भनाई छ । डाक्टर अरविन्द अधिकारीले बझाङ जस्तो पिछडीएको ठाँउमा स्वास्थ्य सेवा दिने अवसर पाँउदा खुसी लागेको बताए । धेरै जसो डाक्टरहरु सरकारी कोटामा अध्ययन गर्ने र दुर्गममा जान नमान्ने गरेको बताउदै उनले आगामी दिनमा पनि गाँउपालिकाले अवसर दिए रायल प्राथमिक स्वास्थ्य केन्द्रमै बसेर स्वास्थ्य सेवा दिन तयार रहेको बताए । आज केदारस्युँ गाँउपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मिले डाक्टर अधिकारीलाई रायल प्राथमिक स्वास्थ्य केन्द्रमा स्वागत गरेका छन ।