प्रताप ओली, बझाङ : थिलथिल आँशु बग्दै थिए विकासका आँखामा । रुँदै भन्दै थिए ‘छोरी जन्माउने सबै बुबा पापी हुन् । म पनि पापी बुबा हुँ । तीन हप्ता अगाडी मेरी छोरीले त्यताबाट स्यान्डल ल्याइदिनु है बाबा भनेकी थिइ । स्थानीय शेर कामी दाइको हातमा स्यान्डल पठाएको थिएँ । मैले पठाएका स्यान्डल पनि नलगाइ छोडेर गइ मेरी छोरी । फूलजस्ती छोरी त्यो पापीले चटक्कै चुँडेर लग्यो । उसका कति सपना थिए सबै अधुरै रहे । छोरीलाई नदेखेको ४ वर्ष पुग्यो । ’
भारतबाट आएदेखि बिकास चैनपुरस्थित एक सानो बन्द कोठाभित्र छन् । जतिखेर पनि आँखाभरि आँशु आइरहन्छन् । छोरीको बलात्कारी र हत्यारालाई कि त फाँसी कि त आजिवन जेलमा सडाए मात्रै मेरि छोरीले न्याय पाउँछ भन्दै छाती पिटिपिटी रोइरहन्छन् विकास । सम्झना १२ वर्षीया जेठी छोरी हुन् । त्यसपछि ४ बहिनी र एक भाइ छन् सम्झनाका । सम्झनासहित तीन बहिनी बाजे बज्यैसँग थिए भने दुई बहिनी र एक भाइ भारतमा बुबा आमासँग थिए । विकास गाउँमा गरिखाने वातावरण नहुँदा २०५८ सालमा भारत छिरेका थिए । त्यसपछि एउटा छोरीको आँखामा समस्या आउँदा धेरै खर्च भयो तर आँखा काम नलाग्ने गरी बिग्रीयो । दुखै दुखले भरिएको विकासको जीवनमा दैवले ठूलो ब्रजपात पारिदियो । फूलको कोपिला जस्तै फक्रिन लागेकी सम्झना बुबा र भाइलाई नदेख्न पाएर यो संसारबाट विदा भइन् ।
सम्झनाका लागि विकासका दुई शब्द
माफ गर्नु छोरी म सबैभन्दा ठूलो अपराधी हुँ । मैले नै कसैले बलात्कार गरोस् कसैले निर्मम तरिकाले हत्या गरोस् भनेर तँलाई जन्माएको रहेछु । त्यो मन्दिरभित्रको देवता जानोस् । मेरी छोरी त्यो पापीले थिचिकुटी बलात्कार गरेर मार्यो । मन्दिरभित्र मेरी छोरी कति रोई होली ? कति चोटी त ए बाबा, ए आमा भनी होली तर म त उसको त्यो चिच्याहट सुन्ने अवस्थामा थिइन् । म कसरी भनुँ ? के मैले आफ्नी छोरी घरमा बुबाआमासँग नराख्न पाइने हो ? के मैले त्यो पापीको सुन चोरेर ल्याएको थियो र मेरी छोरीको सुन लुट्न यत्रो दुस्साहस गर्यो ? हे केपी सरकार सक्छस् भने मेरी छोरीको लागि न्याय दिलाई दे होइन भने मेरो नागरिकता बुझाइदिन्छु मलाई यो देश निकाला गरिदे । यदि म यो देशको नागरिक भए । मेरी चेलीको लुटपाट, बलात्कार र हत्या हुँदा अपराधीलाई फाँसी हुने कानुन बनाइ दे । हामी बुबाहरु पापी भइसक्यौं अब त अति भो ।
छोरीचेलीको जीवनलीला सकिन लाग्यो । अपराधीहरु खुलेआम गाउँघरमा संरक्षणका साथ डुल्न थाले । सरकार भनाउँदाहरुले संरक्षण दिन थाले । हामी गरिब, दिनदुःखीहरुका आवाज सुन्ने को छ ? हाम्रो रगत पसिनाको महत्व बुझ्ने को छ ? हामी कसका लागि यत्रो गरिरहेका छौं । मेरी छोरीको हत्यारा राजेन्द्र बोहरा नै हो । उ यदि हत्यारा होइन् भने मेरी छोरीलाई मार्नुभन्दा एकहप्ता अगाडी कानका मुन्द्रा दे किन भन्यो ? किन मेरी छोरीलाई धम्कायो ? उसका अघिल्ला अपराध पनि धेरै छन् । मेरै घरभन्दा पल्लो घरकी एक बालिकालाई उसले बलात्कार गरेर बच्चा बसे म जिम्मा लिन्छुृ भन्दै कागज गरेर ५०० दिएर घटना मिलाएको छ । त्यो नरपिचास बाहेक मेरी छोरीको हत्यारा कोही होइन । त्यस प्रहरीले बाहिर निकालोस् न मात्र जनकारबाही गर्छौ हामी अब ।
डिप्रेसनमा सम्झनाका बुबा
छोरीको बलात्कारपछि हत्या भएको खबर सुनेपछि बुबा विकासले आँखामा आँशु झार्दै असोज ९ गते बेङ्लोरदेखि लखनउसम्म जहाजको यात्रा तय गरे । लखनउबाट निजी गाडी बुकिङ् गरी गौरीफन्टासम्म पुगे । त्यसको भोलिपल्ट असोज १० गते विकास बझाङ पुगे । तर उनले न छोरीको लास देख्न पाएका छन् न न्यायका लागि लड्न पाएका छन् ।
भारतबाट आएकाले उनलाई चैनपुरस्थित एक क्वारेन्टाइनमा राखिएको छ । भारतदेखि आएर एक बन्द कोठाभित्र बस्दा उनी झन् अचेत बनेका छन् । उनमा झन् डिप्रेसनको समस्या आउनसक्ने देखिएको छ ।
अस्पतालमा शव
हत्या भएको पछिल्लो दिन असोज ८ गते सम्झनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको थियो । पोष्टमार्टमको रिर्पोटले बलात्कारपछि हत्या भएको देखाइसकेको छ । मृत्युको कारण कलेजामा दुईवटा ठूलो चोट लागेको देखिएको छ । हत्याराले बालिकाको पछाडीबाट तिखो वस्तुले छेडेर हत्या गरेको रिपोर्टमा उल्लेख छ । शव अस्पताल कुहिरहेको छ । गर्मीको समयमा आइस नहुँदा शव कुहिएर गन्हाउने अवस्थामा पुगेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए ।
यता सम्झनाका आफन्तले पत्रकार सम्मलेन मार्फत हत्यारा सार्वजनिक नगरेसम्म शव नउठाउने बताएका छन् । प्रहरीले प्रेस विज्ञप्ती इमेल मार्फत पठाएको छ । प्रेस विज्ञप्तीमा राजेन्द्र बोहरालाई हत्या आशंका पक्राउ गरि हिरासतमा ल्याएको र जिल्ला अदालतको म्यादथपको आदेश अनुसार म्याद थप भइ विस्तृत रुपमा अनुसन्धान भइरहेको बताइएको छ भने सोही ठाउँकी अर्की नाम परिवर्तित डी कुमारीले गत साउन २९ गते वेलुका ५ बजेतिर खिकाला गाउँकै तल धनचढी बोहराको घट्टभित्र जबरजस्तीकरणी गरेको भन्दै जाहेरी दिएको कुरा मात्रै उल्लेख छ तर हत्यारा नै हुन भन्ने पुष्ट्याइएको छैन ।
प्रहरी नायब उपरिक्षक रुपक खड्काका अनुसार हत्याका आरोपित राजेन्द्र बोहराले बारम्बार झुटो मात्रै बोलिरहेको छ । हिजो झुटो बोलेको पत्ता लगाउने मेसिन आइसकेको छ । परिक्षण हुन बाँकी छ । अझैं पनि प्रहरी टोली घटनास्थल र गाउँमा अनुसन्धान भइरहेको छ । अन्य घटनालाई हेर्ने हो र स्थानीयको बयानलाई हेर्ने भने त शंका गर्ने कुनै आधार छैन तर अपराधीले मुख खोलेको अवस्था छैन ।