बझाङ। बझाङको बुङ्गल नगरपालिकामा पाँचौँ मेयर कप जिल्ला पालिकास्तरीय खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुङ्गल नगरपालिका खेलकुद समितिको आयोजनामा विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर सञ्चालन गरिएको प्रतियोगिताको नगरप्रमुख जयबहादुर धामीले उद्धाटन गर्नुभएको हो। प्रतियोगिताको उद्घाटन समारोहमा कात्तिक ६ गते निधन हुनुभएका बुङ्गल नगरपालिका–७ का वडाध्यक्ष टङ्क प्रसाद जोशी र कात्तिक १४ गते निधन हुनुभएका बुङ्गल क्रिकेट एसोसिएसनका पूर्वअध्यक्ष आनन्द कार्कीकी आमा पनादेवी कार्कीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
दिवङ्गत दुवै जनाको तस्बिरमा माल्यार्पण गरी एक मिनेट मौनधारण गर्दै शोकका कारण सामान्य रूपमा प्रतियोगिता उद्घाटन गरिएको आयोजकले जनाएको छ। बुङ्गल नगरपालिका–४, झापास्थित कन्या माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा नगरपालिकाबाहिरका सात र बुङ्गल नगरपालिकाभित्रका १० गरी १७ टोली सहभागी छन्।
बुङ्गल नगरपालिका खेलकुद समितिका अध्यक्ष शेरबहादुर कुँवरका अनुसार प्रत्येक गाउँपालिका वा नगरपालिकाबाट बढीमा दुई टोलीले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टोलीले एक लाख ३३ हजार पाँच सय रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६६ हजार सात सय ५० रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये म्यान अफ द सिरिजलाई छ हजार रुपियाँ तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























