बझाङ । जिल्ला अस्पताल बझाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने भने संगै विशेषज्ञ सेवासहित आईसीयू र सिटी स्क्यान सेवा सञ्चालनको तयारी अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार, भौतिक पूर्वाधारको प्रगति र आगामी योजनाबारे जानकारी दिन आयोजित समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा अस्पतालले आगामी एकदेखि दुई वर्षभित्र थप आधुनिक स्वास्थ्य सेवा सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्दीपकुमार ओखेडाले प्रस्तुत गरेको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८०÷८१ मा २३ हजार ५७ जनाले बहिरंग (ओपिडी) सेवा लिएकामा यो संख्या बढेर आर्थिक वर्ष २०८२÷८३ मा ४७ हजार ४ सय ७६ पुगेको छ । अस्पतालमा इको र इन्डोस्कोपीजस्ता आधुनिक स्वास्थ्य सेवा पनि थपिएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गर्ने नीतिगत निर्णय गरिसकेको छ । आवश्यक जनशक्तिको दरबन्दी स्वीकृतिका लागि समेत पहल भइरहेको अस्पतालले जनाएको छ । अस्पतालको मातृशिशु भवन निर्माणका लागि संघीय सरकारबाट दुई करोड रुपैयाँ र शववाहन खरिदका लागि प्रदेश सरकार तथा सांसद विकास कोषबाट ४५ लाख रुपैयाँ विनियोजन भएको छ। दिगो विद्युत् आपूर्तिका लागि वैकल्पिक ऊर्जाको व्यवस्थापन गर्न पनि समन्वय भइरहेको जनाइएको छ ।
अस्पतालले आगामी एकदेखि दुई वर्षभित्र आईसीयू, मिनी भेन्टिलेटर र फोहोर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने लक्ष्य राखेको छ। प्रतिनिधिसभा सदस्य ऐन महरले पनि अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्नुका साथै आईसीयू र सिटी स्क्यान सेवा सञ्चालनका लागि पहल भइरहेको बताएका छन् ।
उनले भने, ‘गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता हो,’ महरले भने, ‘बझाङका नागरिकले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम गर्न जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी काम गरिरहेका छौँ ।’
उनले अस्पताललाई सुदूरपश्चिमकै उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा विकास गर्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सेवाभावका साथ काम गर्न आग्रह गरे। अस्पतालको विकास र सेवा विस्तारका लागि संसद् तथा सम्बन्धित निकायमा आवश्यक पहल गर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी अधिकांश वक्ताले पछिल्लो समय अस्पतालको सेवा प्रवाह र व्यवस्थापनमा सुधार देखिएको बताए । युवा चिकित्सक तथा कर्मचारीको सक्रियताले अस्पतालको कामले गति लिएको उल्लेख गर्दै उनीहरूले मेडिकल सुपरिटेन्डेन्ट डा. ओखेडाको नेतृत्व र अस्पताल सुधारका प्रयासको प्रशंसा गरेका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर खड्काले दुर्गम हिमाली जिल्लामा रहेर सेवा दिइरहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको योगदानको कदर गर्दै उनीहरूको सेवा सुविधामा ध्यान दिइएको बताए । आगामी दिनमा पनि कर्मचारीको मनोबल उच्च राख्न व्यवस्थापन समितिले प्राथमिकता दिने उनको भनाइ थियो । पाँच महिनाअघि अस्पतालको टोलीले सांसद महरलाई अस्पतालका समस्या र आवश्यकताबारे जानकारी गराएको थियो । त्यसपछि प्रदेश सरकारबाट ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय र विभिन्न पूर्वाधारका लागि बजेट विनियोजन भएको भन्दै खड्काले महर, प्रदेश सरकार र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महर प्रमुख अतिथि थिए । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भानुभक्त जोशी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. विजय पुरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।
























