बझाङको बुङ्गल नगरपालिका–८ का वडा अध्यक्ष तथा कफलसेरी स्वास्थ्य चौकी सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर जाग्रीको अध्यक्षतामा आयोजित एक कार्यक्रमबीच कफलसेरी स्वास्थ्य चौकीमा विगत ३० वर्षदेखि कार्यरत वरिष्ठ अनमी जुना देवी सिंहलाई बिदाइ गरिएको छ। उमेर ६० वर्ष पूरा भएपछि उहाँ अनिवार्य अवकाश हुनुभएको हो।सिंहले २०५३ साल असार ३० गते मातृशिशु कार्यकर्ताका रूपमा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको थियो। सेवा अवधिमा उहाँ अनमी चौथो तहमा नियुक्त भई पछि वरिष्ठ अनमी पाँचौँ तहमा बढुवा हुनुभएको थियो। लामो समयसम्म स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउँदै आउनुभएकी सिंहले उमेर हदका कारण अनिवार्य अवकाश लिनुभएको हो।उहाँले साविक कफलसेरी गाविस तथा हालको बुङ्गल नगरपालिका–७ र ८ का नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।

विशेषगरी खोप कार्यक्रम, गाउँघर क्लिनिक, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा उहाँको भूमिका उल्लेखनीय रहेको छ।सिंहले आफ्नो सेवाकालमा स्वास्थ्य सेवासँगै समाजमा विद्यमान अशिक्षा, अन्धविश्वास र कुरीतिविरुद्ध जनचेतना फैलाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। विगतमा महिलाहरू स्वास्थ्य सेवाप्रति सचेत नहुँदा, खोप लगाउनसमेत आनाकानी गर्ने अवस्था थियो। त्यस्तो समयमा घरदैलोमा पुगेर नागरिकलाई स्वास्थ्य सेवाको महत्व बुझाउँदै सेवा प्रवाह गर्नु उहाँका लागि सहज थिएन।त्यतिबेला स्वास्थ्य क्षेत्रमा काम गर्ने महिलालाई समाजले हेर्ने दृष्टिकोणसमेत सकारात्मक नरहेको अवस्थामा उहाँले विभिन्न चुनौतीको सामना गर्दै निरन्तर सेवा दिनुभयो। सामाजिक आलोचना र अप्ठ्याराका बीच पनि आफ्नो जिम्मेवारीबाट पछि नहटी नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनुभएकी सिंहको योगदान प्रशंसनीय रहेको छ।उहाँले पुर्याउनुभएको योगदानलाई बुङ्गल नगरपालिका–७ र ८ का स्थानीयवासी तथा साविक कफलसेरी गाविसले सधैँ स्मरण गर्ने विश्वास व्यक्त गरिएको छ।लामो समयसम्म स्वास्थ्य सेवामा समर्पित रहनुभएकी सिंहको योगदानको कदर गर्दै आयोजित बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
























