कुरीति र कुलतविरुद्ध सकारात्मक परिवर्तन

Image

बझाङ  । बुङ्गल नगरपालिका–९, देउलीकोटका स्थानीयको दैनिकी पछिल्ला केही वर्षयता बिस्तारै फेरिँदै गएको छ । महिनावारीका बेला महिलालाई घरभन्दा अलग्गै राख्ने चलनदेखि घरायसी काममा महिलामाथि बढी जिम्मेवारी थोपर्ने, बालविवाह गर्ने, मदिरा सेवनपछि घरपरिवारमा झैझगडा गर्ने, छोराछोरीबिच विभेद गर्ने र सरसफाइमा बेवास्ता गर्ने व्यवहारमा परिवर्तन आउन थालेको स्थानीय बताउँछन् । सामाजिक कुरीति, कुप्रथा र विभेद हटाउँदै मानिसको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सञ्चालन गरिएको समान व्यवहार परियोजना यस परिवर्तनको एउटा महत्वपूर्ण आधार बनेको छ । युनाइटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक सहयोगमा दलित सहयोग समाजले बुङ्गल नगरपालिकाको देउलीकोट र कफलसेरी क्षेत्रमा सञ्चालन गरेको परियोजनाले सामाजिक चेतना अभिवृद्धिसँगै आयआर्जनका गतिविधिलाई पनि जोड दिएको छ ।

परियोजनाले महिला समूह गठन, नियमित बैठक तथा छलफल, तालिम, गोष्ठी, सामाजिक कुरीति हटाउने अभियान, राम्रो व्यवहार गर्ने व्यक्तिलाई सम्मान तथा आयआर्जनका लागि अनुदानलगायतका गतिविधि गर्दै आएको छ । यसबाट समाजमा रहेका पुराना कुरीति र गलत व्यवहारमा कमी आउनुका साथै महिलाको आत्मविश्वास र परिवारको आर्थिक अवस्थामा समेत सुधार आएको स्थानीय पुनादेवी बोहोराले  बताउनुभयो । सुर्मा सरोवर आमा समूहकी अध्यक्ष मिना पातलीले परियोजनाबाट भैँसीपालनका लागि ६४ हजार रुपियाँ सहयोग पाएपछि आफ्नो आर्थिक गतिविधि अघि बढाउन सहज भएको बताउनुभयो । उहाँका अनुसार भैँसीपालनबाट दुध तथा घिउ बिक्री गरेर वार्षिक करिब २० हजार रुपियाँसम्म आम्दानी भइरहेको छ । त्यस्तै समूहकी सदस्य माना पातलीले ३८ हजार सहयोगबाट चार वटा बाख्रा खरिद गरेर व्यवसाय सुरु गर्नुभएको छ । बाख्रापालनबाट वार्षिक एक लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँको अनुभव छ । उहाँहरू जस्ता धेरै महिलाले विभिन्न किसिमका अनुदान संस्थाबाट रकम लिएर आयआर्जनको बाटोमा लागेका छन् । त्यस्तै परियोजनाबाट सहयोग पाएपछि महिलाले आफ्ना आर्थिक कारोबार आफैँ गर्न सक्ने भएका छन् । उनीहरूले आफ्नो आम्दानी घरखर्च, बालबालिकाको पढाइ, औषधी उपचार तथा व्यक्तिगत आवश्यकतामा खर्च धान्न सहयोग पुगेको बताइएको छ ।

बालविवाहमा कमी

देउलीकोट क्षेत्रमा परियोजना लागु हुनुअघि महिनावारी भएका महिलाले छ दिनसम्म घरमा विभिन्न प्रकारका प्रतिबन्ध भोग्नुपर्ने र अलग्गै गोठमा सुत्नुपर्ने अवस्था रहेको स्थानीय सपना कुँवरले बताउनुभयो । अहिले भने महिनावारीका बेला चार दिन मात्रै बार्ने र आफ्नै सुत्ने कोठामा सुत्न पाउने अवस्था आएको उहाँको भनाइ छ । महिलाको स्वास्थ्य, सरसफाइ र सम्मानसँग जोडिएको विषयमा समूहमा नियमित छलफल हुन थालेपछि पुराना मान्यता र व्यवहारमा क्रमशः परिवर्तन आउन थालेको स्थानीयको अनुभव छ । परियोजनाले महिला–पुरुषबिचको भूमिकालाई पनि छलफलको विषय बनाएको छ । पहिले घरायसी काम महिलाको मात्रै जिम्मेवारी जस्तो मानिने गरे पनि अहिले महिला र पुरुष मिलेर घरको काम गर्ने अभ्यास बढेको उहाँले बताउनुभयो ।  देउलीकोट क्षेत्रमा पहिले मागेर तथा भागेर बालविवाह हुने गरेको स्थानीयको अनुभव छ । परियोजनाले बालविवाहका कारण पर्ने सामाजिक तथा पारिवारिक असरबारे छलफल र जनचेतनामूलक गतिविधि सञ्चालन गरेपछि मागेर गरिने बालविवाह अन्त्य भएको अर्का स्थानीय मैना बोहोरा बताउनुहुन्छ ।

अहिले बालबालिकाले २० वर्ष पुगेपछि आफ्नो इच्छा अनुसार विवाह गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको छ । भागेर हुने बालविवाहको समस्या भने पूर्ण रूपमा अन्त्य भइनसकेको स्थानीय बताउँछन् । देउलीकोट क्षेत्रको बिडबिडीगाउँमा रहेको समाज सुधार महिला समूहकी अध्यक्ष बालुलीदेवी पार्की र उपाध्यक्ष ममता विष्टको नेतृत्वमा समूहका सदस्यले सामाजिक विषयमा छलफल तथा सामूहिक गतिविधिलाई निरन्तरता दिँदै एकअर्कालाई सहयोग गर्ने भावना विकास भएको स्थानीय बताउँछन् ।  त्यस्तै तालिम र छलफलमा बोली तथा प्रतिबद्धतामा आएको परिवर्तनलाई व्यवहारमा पूर्ण रूपमा लागु गर्न नसकिएको चुनौती पनि छ ।

मदिरा नियन्त्रणले घट्यो झैझगडा

खुला रूपमा मदिरा सेवन तथा बिक्रीवितरण हुने र मदिरा सेवनपछि गाउँमा होहल्ला तथा घरपरिवारमा झैझगडा हुने अवस्था पनि पहिलेको तुलनामा घटेको स्थानीयको भनाइ छ ।

याे समाचार गोरखापत्र दैनिक बझाङ स‌ंवाददाता सुरेश धामीले गाेरखापत्र दैनिकमा लेखेका छन् । 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन