बझाङ। रेडियो बुंगल ९८.३ मेगाहर्जलाई ‘जयपृथ्वी संस्थागत पुरस्कार’ प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ बझाङ शाखाको आठौँ वार्षिक साधारण सभा तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा रेडियो बुंगललाई संस्थागत पुरस्कार प्रदान गरिएको हो । सञ्चार तथा पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र निष्पक्ष सूचनाको सम्प्रेषण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, स्थानीय आवाजको प्रतिनिधित्व, सामाजिक जागरण, जनचेतना अभिवृद्धि तथा सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवद्रधनमा रेडियो बुंगलले छोटो समयमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ।

त्यस्तै जयपृथ्वी पत्रकारिता पुरस्कार व्यक्तिगत तर्फ राससमा कार्यरत पत्रकार भूमिराज पिठातोली, र नरेश स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसमा कार्यरत पत्रकार सत्यराज सिंहलाई प्रदान गरिएको । महासंघले आगामी दिनमा समेत रेडियो बुंगलबाट निष्पक्ष, निर्भीक, विश्वसनीय, व्यावसायिक तथा जनउत्तरदायी पत्रकारिताको निरन्तरता र उत्तरोत्तर प्रगतिको अपेक्षा गरेको जनाएको छ। जयपृथ्वीबहादुर सिंहको नाममा नेपाल पत्रकार महासंघ बझाङ शाखाले यसअघि पनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ। जयपृथ्वी बहादुर सिंह गोरखापत्रका संस्थापकसमेत भएकाले उहाँको जन्मजयन्तीका अवसरमा पत्रकारिता क्षेत्रसँग सम्बन्धित पुरस्कार प्रदान गर्ने परम्परा बझाङमा महत्वपूर्ण मानिँदै आएको छ ।

महासंघ केन्द्रीय समितिका महासचिव रामप्रसाद दाहाल र नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहले उक्त पुरस्कार प्रदान गर्नुभएको हो। रेडियो बुंगललाई प्राप्त यस सम्मानले स्थानीय स्तरमा सञ्चालित सञ्चारमाध्यमले समुदायका आवाज र सरोकारलाई केन्द्रमा राखेर गरेको पत्रकारिताको योगदानलाई थप प्रोत्साहन मिलेको रेडियो बुंगलले जनाएको छ।























