माननीय ऐन महरको स्वकीय सचिवमा अम्मर राज जोशी नियुक्त

Image

बझाङ – बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक युवा नेता ऐन महरको स्वकीय सचिवमा एमाले बझाङका नेता अम्मर राज जोशी नियुक्त भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी बझाङको सिफारिसमा बुङ्गल नगरपालिका वडा नं ७ निवासी जोशीलाई प्रमुख सचेतक महरको स्वकीय सचिवमा नियुक्त गरिएको हो ।

महरको सचिवालयबाट जारी नियुक्तिपत्रमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा ४ (१) अनुसार जोशीलाई स्वकीय सचिवका रूपमा नियुक्त गरिएको उल्लेख छ ।

अम्मर राज जोशी नेकपा एमाले जिल्ला कमिटी बझाङका सदस्यसमेत हुन् । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा बुङ्गल नगरपालिकाको उपप्रमुख पदमा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पाँच दलीय गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।

जोशीलाई स्वकीय सचिवको जिम्मेवारी दिँदै महरले उनको प्राज्ञिक योग्यता, राजनीतिक अनुभव, क्षमता, कुशल कार्यशैली तथा सक्रियताका माध्यमबाट जिम्मेवारी निष्ठा र इमानदारीका साथ प्रभावकारी रूपमा सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।

महरले सामाजिक सञ्जालमार्फत जोशीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्