कर्ण धामी बझाङ : बाह्रदेउ ज्यावनी समाज बझाङको आयोजनामा एक दिने युवायुवती लक्षित “ज्यावनी समाजको इतिहास, संस्कृति तथा सामाजिक सञ्जाल सचेतना” कार्यक्रम सम्पन्न गरेकोछ। समुदाय लक्षित उक्त कार्यक्रममा जिल्लाभरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममार्फत युवापुस्तालाई आफ्नो समुदायको इतिहास, संस्कृतिप्रति सचेत गराउनुका साथै सामाजिक सञ्जालको सही प्रयोगबारे जानकारी प्रदान गरिएको समाजका सचीव रमेश शिंह धामिले बताउनु भयो । कार्यक्रममा ज्यावनी समाज बझाङका वरिष्ठ सदस्य तथा आईटी संयोजक कटक सिंह धामीले सामाजिक सञ्जाल सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए।
उनले सामाजिक सञ्जालको सकारात्मक प्रयोग, साइबर सुरक्षालगायत डिजिटल सचेतनाका विषयमा सहभागीलाई जानकारी गराएका थिए। त्यस्तै, बाह्रदेउ ज्यावनी समाज बझाङका अध्यक्ष कर्ण धामीले ज्यावनी समुदायको प्रारम्भिक इतिहास तथा बाह्रदेउका बाह्र गाँथाबारे स्पष्ट पार्दै समुदायको मौलिक पहिचान संरक्षणमा युवापुस्ताको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बझाङको पनि सहभागिता रहेको थियो। कार्यालयका प्रशिक्षक हरिस बमले उपभोक्ता हित संरक्षणसम्बन्धी प्रशिक्षण दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख मान बहादुर धामी रहेका थिए। उनले यस्ता कार्यक्रमले समुदायका युवामा सकारात्मक सोच, सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारी विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। समाजको इतिहास, संस्कृति तथा आधुनिक प्रविधिबीच सन्तुलित चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बाह्रदेउ ज्यावनी समाज बझाङले जनाएको छ।

























