बुङ्गल — कृषि विकास बैंक बुङ्गल शाखाले आफ्नो ५९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुङ्गल नगरपालिका–६ बटुलसेरामा रहेको अनाथ आश्रममा आश्रित अनाथ तथा पीडित बालबालिकालाई न्यानो लुगा सहयोग गरेको छ।
बैंकले आश्रममा रहेका १४ जना बालबालिकालाई जाडोबाट जोगिनका लागि न्यानो लुगा १४ थान तथा खेलकुद गतिविधिमा प्रयोग हुने जर्सी सेट १४ थान वितरण गरेको हो।
कृषि विकास बैंक बुङ्गल शाखाका निमित्त प्रबन्धक चन्द्रप्रकाश उपाध्यायका अनुसार उक्त सहयोग कार्यक्रम करिब ३० हजार रुपैयाँ बराबरको रहेको छ। यसै अवसरमा बालबालिकालाई चिया तथा बिस्कुटसमेत खुवाइएको उहाँले जानकारी दिनुभयो।

उपाध्यायले बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहयोग वितरण कार्यक्रममा बुङ्गल नगरपालिका–४ का वडा अध्यक्ष गणेश कार्की, बुङ्गल नगरपालिका–६ का वडा सदस्य, वडा सचिव रामबहादुर भण्डारी, आश्रमका अभिभावकहरू तथा कृषि विकास बैंक बुङ्गल शाखाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले बैंकको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
























