बझाङ:- आज साउने संक्रान्ति । सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । निरयण सिद्धान्त अनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ । साउने संक्रान्ति सँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ।
आजको दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायो लगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टो सहित लुतो फ्याँक्ने चलन छ।
यसरी लुतो फ्याँक्नाले वर्षभरि रोग ब्याधिबाट मुक्ति पाइने विश्वास छ । कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ । किरात समुदायमा एका बिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने चलन छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ।
यस्तै सुदूरपश्चिमतिर पनि अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन छ। साउने संक्रान्तिका अवसरमा छोरी चेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ । आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष मान्छन् । नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छ । कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्।
आजै सोमवारे औँसी
औँसी तिथि र सोमवार एकै दिन परेको दिन सनातन धर्मावलम्बीले सोमवारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ । वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ।
पुराण र ज्योतीषीय ग्रन्थमा सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ । यो दिन तुलसी वा पिपलको पूजा गरी प्रदक्षिणा गर्ने विधान छ ।