गौरापर्व र पौराणिक सन्दर्भ -डा.टीएन जोशी

गौरापर्वका अधिष्ठाता तथा अभीष्ट इष्ट देवता शिव र पार्वती हुन्। शिव र पार्वतीलाई इष्टदेव निर्धारण गरी गौरापर्वको प्रार्दूभाव कसरी भयो भन्ने कुरा स्कन्द पुराणको मानसखण्डमा उल्लेख भएको पाइन्छ। जस अनुसार यस मानसखण्डमा अवस्थित मानसरोवर कैलाश पर्वतको कुनै एउटा अज्ञात र निर्जन कन्दरामा अतीतमा हिमालयकी पुत्री गौरीले महादेवलाई मात्र पतिको रूपमा वरण गर्न सकूँ भनेर वालुवाको शिवलिङ्ग बनाई १२ वर्षसम्म कष्ट साध्य तपस्या गरेर प्रतिफलमा महादेवलाई नै पतिको रूपमा प्राप्त गरेकी हुनाले हिमालय पुत्री गौरीले त्यही शिवपर्वती सम्बन्धि विवाह प्रकृया तथा पूजा अर्चना गरेको गरेको पद्धतिलाई आत्मसात गरेर त्यतिबेलादेखि नै यस मानसखण्ड भित्र रहने आस्थावान लोकजीवनले हिमालयकी पुत्री गौरीलाई ‘गोरा’ को प्रतिमुर्तिको रूपमा स्थापित गरेर साथमा देवादिदेव महादेवलाई महेश्वर अर्थात् शिवको रूपमा स्थापित गरि शिव पार्वतीको पूजन गर्दे आएको प्रचलन पाइन्छ भने महादेवलाई नै पति पाउँ भन्ने ‘ गौरी’ को भीष्म प्रतिज्ञालाई हिन्दू संस्कृति अनुरूपको वैदिक विवाह पद्धतिद्वारा पूर्ण गरिएको पाइन्छ।

वास्तविक वस्तुतथ्यका आधारमा भन्नु पर्दा गौरापर्वमा शिव पार्वतीको वैवाहिक प्रकृया सांकेतिक वा प्रतीकात्मक भए पनि त्यसको पूजाअर्चन तथा खेल मनोरञ्जनको प्रकृया भने प्रत्यक्ष हुन्छ। संस्कृतिका दृष्टिले सुदूरपश्चिम आफैमा सम्बृद्ध मानिने क्षेत्र हो।यहाँका लोक साहित्य र लोकसंस्कृतिका धरोहरहरू बेजोड र अनुपम छन्। सुदूरपश्चिम भन्ने बित्तिकै गौरा र देउडाको सम्झना हुने र यसकै राग रङ्गको झझल्को आइरहने भएर नै प्रकृतिका सुरम्य काखमा रहेको यस भूमिलाई सम्बोधनमा सुदूरपश्चिमको संज्ञा दिइएको हुनुपर्छ।गौरापर्व नारी विशेष भएपनि खेल मनोरञ्जनको सामुहिकता भित्र पुरूषहरूको पनि उल्लेख्य सहभागिता, सहकार्य तथा विविध किसिमको संयोजन पाइन्छ।

यो पर्व शिष्टता, सभ्यता, पारम्परिक मान्यता एबम् संस्कृतिलाई दर्साउने र जोगाउने पर्व भएकाले यसले यस क्षेत्रको संस्कार र संस्कृतिलाई समेत उजागर गरेको छ। गौराका विविध नाम: नामाकरण गर्दा ग वर्णबाट शुरू भएकोले गौरी नाम रहन गएको हो। गौरीलाई प्यारो बोलीमा गौरा भनिएको त्यसलाई पनि सजिलो हिसाबले बोल्न खोज्दा गो:रा शब्द उपयुक्त ठानिएको हुनसक्छ। लोली गो:रा जेठीलाई र सञ्ज्या गो:रा कान्छी गौरालाई भन्ने चलन पनि छ।तापनि सामान्यतया लोली वा लोलीगोरा शब्दले दुबै गो: रा(गौरा)को बोध हुन्छ। गौरापर्वको तिथि र निर्णय: भाद्र शुक्ल वा कृष्णपक्षमा मनाइने गौरापर्वको तिथि सुनिश्चित नभएको कुरा बुझिन्छ। यो कहिल्यै भाद्र शुक्लपक्षमा मनाइन्छ भने कहिले कृष्णपक्षमा। यसको पनि कारण छ के भने भदौ २१ गते पछि यो पर्व कहिल्यै मनाइदैन।

अझ अगस्त्योदयपश्चात् यसको आयोजना गरिदैन। त्यसैले भदौ २१ गते भित्र भाद्रशुक्ल सप्तमी पर्दछ भने भाद्र शुक्लमा र सो नपरेमा भाद्र कृष्मपक्षमा गौरापर्व मनाइन्छ।शुक्ल पक्षमा मनाइयो भने उजेली गो: रा र कृष्णपक्षमा मनाइयो भने अँधेरी गो:रा भनिन्छ। कसरी मनाइन्छ गौरा? — गौरापर्वको तयारी भाद्रकृष्ण औंसी वा श्रावण शुक्ल पूर्णिमाका दिनदेखि शुरूहुन्छ।त्यसो भएता पनि पहिलो दिनमा व्यक्तिगत सरसफाइलाई ध्यान दिइन्छ भने दोस्रो दिनमा घर तथा आँगनको सरसफाइमा बढी ध्यान दिइन्छ। भाद्र शुक्लपक्ष वा कृष्णपक्षको तृतीयाका दिन मैल फाल्नका लागि धुने बिभिन्न प्रबिधिमा राखिएका लुगाकपडाहरू पखालिन्छ।अर्को दिनको गौराको पूजामा अनिवार्य मानिने अक्षता अर्थात् गुराँस, गहत, मास, केराउ र मकैसमेतको पञ्चान्न ( बिरूडा) केलाउने काम हुन्छ।

भाद्र शुक्ल वा कृष्णपक्षको पञ्चमीका दिन प्रात: स्नान ध्यान गरिसकेपछि गाउँभरिका ब्रतालु महिलाहरू पञ्चान्न भिजाइ सोही घरको एबम् सोही कक्षको चोखो तथा सुरक्षित ठाउँमा राख्छन्। षष्ठी तिथिको प्रात:कालमा जुन भाँडोमा बिरूडा भिजाइएको हो सोही भाडोमा पखालेर तथा राखेर बिरूडा घर ल्याइन्छ।बिरूडा पखालेको भोलिपल्टबाट यो पर्व मुख्यरूपमा शुरूहुन्छ।पिर्कामा शिवजीको प्रतिमुर्ति र सामा सतीजीको प्रतिमुर्ति बनाएर ल्याएको हुनाले मिर्कालाई मयासर अर्थात् महादेव र सामालाई जेठी गोरा वा सतीदेवी भनिन्छ। दुलाहा दुलहीको रूपमा शिव र सतीको स्थापना पछि वैदिक बिधिबिधानका साथ पूजापाठको क्रम शुरू हुन्छ।

गौरा पूजाका लागि मन्त्र सुन्ने परम्परा : गौरापूजाका लागि विवाहोपरान्त नारीहरूले सुन्नुपर्ने र दिनहुँ साँझ बिहान जप्नुपर्ने मन्त्र बिधिवत् गुरूस्थापना गरि यसै पर्वमा वा कुनै शुभ दिनमा सुनिसकेको हुनुपर्छ। प्राय: यसै पर्वमा सासू, जेठानी, आमाजू, फुपूसासू, जस्ता मान्य व्यक्तिबाट उक्त मन्त्र सुन्ने गरेको देखिन्छ।

दुबोधागोको चलन -: यो पर्वमा देखिने अर्को रोचक कुरा के हो भने रक्षाबन्धनका दिन बाहुन क्षेत्रिय पुरूषले नयाँ जनै फेरेझैं यस पर्वका अन्तमा ब्रत गर्ने नारीहरू घाँटीमा बाँध्ने धागो फेर्दछन्। यसलाई दुब्धागो भनिन्छ।रातो, पहेलो र कालो धाखोबाट बनाइएको दुब्धागो सामान्यतया पोते जस्तै देखिन्छ।

गौरापर्वमा सहभागिता : गौरी महेश्वरको पूजा गर्ने बाहुन, ठकुरी र क्षेत्रीका विवाहिता र पति भएकी महिलाहरूका लागि शुरू हुने यो पर्व केवल तिनिहरूमै सीमित हुदैन। नाचगान र खुशी उमङ्गद्वारा प्रफुल्लित तुल्याउन यसपर्वले सबै जातका महिला पुरूष तथा केटाकेटीहरूलाई बराबररूपमा समेटेको पाइन्छ। ब्रत र पूजाआजा बाहुन, क्षेत्री र ठकुरीका विवाहित सधवा नारीहरूले मात्र गरे पनि महिलाहरूको समूहमा गौरा राखिएको घरमा राति गाइने गीत र त्यसक्रममा खेलिने देउडामा सबै जातका महिला पुरूषको सहभागिता पाइन्छ।

गौरा पर्वको मुख्य दिन ‘ दूर्वाष्टमी व्रत’ : पूजनका हिसाबले गौराको अन्तिम तथा महत्वपूर्ण दिन दूर्वाष्टमी व्रत हो।यस दिनलाई अठवाली पनि भनिन्छ। यस दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा सञ्ज्या गौरालाई ल्याउने गरिन्छ।

Bungal Purai
Bithadchir 2
Loading...