सरकारले सुरू गरेका विकास योजना र कामलाई जनतामा लिएर जाने ओलीकाे पक्ष तयारी

Shivashankar

काठमाण्डु –  बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ संकेत गर्दै भने, ‘संसद पुनःस्थापना गरेर फेरि तिकडम गर्छु भन्ने आशय नराखे हुन्छ । चुनाव भयो भने कुनै तिकडम हुँदैन भनेर भाग्नुभएको हो । उहाँहरू चुनाव सम्झनुहुन्छ, झस्याङ्ग हुनुहुन्छ । अनि भाग्नुहुन्छ र आरोप लगाउनुहुन्छ ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको ओली पक्ष बैशाखका लागि तोकिएको निर्वाचनमा केन्द्रित भएको छ । बालुवाटार बैठकले सहर्ष र उत्साहका साथ ढुक्कसँग जनतामा जाने निधो गरेको छ । नेकपा प्रचण्ड पक्ष भने संसद विघटनलाई असंवैधानिक भन्दै पुनःस्थापनाको माग गरिरहेको छ । प्रधानमन्त्री ओलीले चालेका कदमको विरोध गरिरहेपनि संसद पुनःस्थापना भइहाल्ने वा आफ्नो माग सुनुवाइ हुनेमा प्रचण्ड पक्ष ढुक्क छैन । बरु प्रचण्ड पक्षमा डर, अनिश्चितता र निराशा देखिन्छ ।

काठमाण्डुको बबरमहलमा आयोजित आफू पक्षीय केन्द्रीय कमिटी बैठकलाई बिहीवार सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिलेको लडाइँ सामान्य हुँदैन, जस्तोसुकै त्याग गर्न पनि तयार भनेर हामीले संकल्प गरौं । हामीले भीषण संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ ।’ ओलीले निर्वाचन गराउन ढुक्कसँग तयारीमा लागेको बेला प्रचण्ड पक्ष सहजै माग पूरा हुने देख्दैन, प्रचण्डले भीषण संघर्ष गर्नुपर्ने संकेत गर्नुले यस्तै संकेत दिएको छ ।

प्रचण्ड यत्तिमै रोकिएनन्, उनले संवैधानिक संस्थाहरू र न्यायालयप्रति पनि संकेत गरे । ‘हाम्रा आधिकारिक संस्थाहरूलाई केही भन्नु छैन । संवैधानिक व्यवस्था अनुसार काम होस् । षड्यन्त्रको डिजाइन सफल हुन नदिइयोस् । खबरदार ! संविधानको अपहरण नगरियोस् । कानून अनुसार फैसला भए हुन्छ,’ उनले भने । संघर्ष गर्दै जाँदा जेल जानुपर्ने हुनसक्नेतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘हामी फेरि जेल जान तयार हो कि होइन ?’

केन्द्रीय कमिटी बैठकपछि जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न बल्खु पुगेका नेताहरूले खिचाएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा नेताहरूको अनुहार निराश र मलिन देखिन्छ । तर ओलीको शैली र अनुहारमा कुनै परिवर्तन आएको छैन । प्रधानमन्त्री ओलीको व्यंग्यात्मक शैली, उखानटुक्का, हाँसोठट्टा निरन्तर व्यक्त भइरहेको छ ।

ओलीतिर नेता कार्यकर्ताको बढुवा

ओली पक्षको उत्साह काठमाण्डुमा मात्रै सीमित छैन, जिल्ला–जिल्लामा पुगेको छ । केन्द्रीय कमिटी विस्तार गरेर १ हजार १९९ सदस्यीय बनाएपछि धेरै नेताहरूको बढुवा भएको छ । बालुवाटारका बैठकमा सहभागी भइरहेका छन्, सामाजिक सञ्जालमा बधाई खाइरहेका छन् । नवनियुक्त केन्द्रीय सदस्यका ‘कार्यकर्ता सर्कल’मा समेत नेताको बढुवा भएकोमा उत्साह छ, चुनावको माहोल तात्ने देखेर झन् उमंग छ । राजनीतिक कार्यकर्ताका लागि चुनाव आउनु भनेको दशैं आउनुजस्तै हुन्छ ।

प्रचण्ड पक्षमा भने आफ्नै खेमाका नेता कार्यकर्ता ओली पक्षतिर लागेपछि तनाव छ । प्रचण्डका पुराना सहयोद्धा तथा प्रभावशाली नेता, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा लगायत नेताहरू ओलीतिर लागेका छन् । मधेशका प्रभावशाली नेता प्रभू शाहले २ वटा अध्यक्ष बनाएकोमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

तर ओली खेमाका कटिवद्ध नेता कार्यकर्ता भने प्रचण्डतिर लागेका छैनन्, बरु थपिएका छन् । प्रचण्डतिर नेताहरूको बढुवा हुने, केन्द्रीय सदस्य थपिने कुनै संकेत छैन, नेता कार्यकर्ताहरूमा कुनै आशा देखिँदैन । राजनीतिमा अवसरको मौका पर्खेर बसेका नेता कार्यकर्ताहरू बरु ओलीतिरै लागेर आफ्नो बढुवा गर्ने चक्करमा लागेका छन् । जसले गर्दा प्रचण्ड पक्षमा झन् क्षति हुँदै जाने देखिन्छ ।

चुनावका लागि आकर्षक नारा

चुनाव प्रचारप्रसार र भाषण कलामा पोख्त प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा त्यही अनुसारको तयारी सुरू गरेका छन् । सरकारले सुरू गरेका विकास योजना र कामलाई जनतामा लिएर जाने तयारी ओली पक्षको छ । सरकारले केही आकर्षक कार्यक्रम सुरू गरेको दाबी गर्दै त्यसको पूर्र्ण विवरण केही दिनमा जनतामा ल्याउने नेकपा प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

ओली पक्ष सरकारमै भएकाले चुनावअघि केही थप घोषणा वा निर्णय गरेर पनि जनतालाई प्रभावित गर्न सक्ने अवस्थामा छ । तर प्रचण्ड पक्ष उही पुरानै राजनीतिक मुद्दामै सीमित हुने देखिएको छ । लोकतन्त्रको रक्षा, कम्युनिस्ट पार्टीको एकता जस्ता जनता वाक्क भइसकेका कुरा मात्रै सुनेर मतदाता आकर्षित हुने देखिँदैन । गत निर्वाचनमा जितेर गरेको काम र विकास देखाउन प्रचण्ड पक्षको हातमा केही छैन । सरकारले चुनाव गरेको अवस्थामा प्रचण्ड पक्षले रित्तो हात जनतामा जानुपर्ने बाध्यता छ ।

Hohel Kananga
Loading...