काठमाण्डौ – नेकपा प्रचण्ड-नेपाल समूहका तीन शीर्ष नेता सडक प्रदशनमा उत्रिएका छन । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रम अनुसार पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडक आन्दोलनमा उत्रिनुभएको छ । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अरु नेताहरुसँगै उहाँहरु माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी हुनुभएको हो । ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर सडकमा पलेँटी कसेर बसेको उहाँहरुको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् । प्रदर्शनमा विघटित प्रतिनिधिसभाका प्रचण्ड-नेपाल समूहका अरु सदस्यहरुले ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड बोकेका छन् । आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ । अदालतमा पनि रिट दायर गर्ने तयारी छ । आजै दाहाल नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न दाहाल नेपाल समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार पाँच सय एक सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ । हिजोको केन्द्रिय समिति बैठकले पुस महिनाभरका लागि आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।