बझाङ । बुङ्गल नगरपालिका खेलकुद समितिको आयोजनामा पुस १५ गतेदेखि सञ्चालन हुँदै आएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय विजगडाले सर्वाधिक पदक प्राप्त गर्दै उपाधि हात पारेको छ। नगर खेलकुद समितिका अनुसार सरस्वती मावि विजगडाले ९ स्वर्ण, ४ रजत र १ कास्य गरी जम्मा १४ वटा पदक प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो।
दोस्रो स्थानमा दुर्गा माध्यमिक विद्यालय सिमाली रहेको छ। सिमालीले ८ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १५ वटा पदक जितेको छ। त्यसैगरी शारदा माध्यमिक विद्यालय सैनोडीले ३ स्वर्ण, ३ रजत र २ कास्य गरी ८ पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहन सफल भएको छ। केदार माध्यमिक विद्यालय देउलीकोटले ३ स्वर्ण, २ रजत र १ कास्य, कफलसेरी माध्यमिक विद्यालय कफलसेरीले २ स्वर्ण, २ रजत र ५ कास्य गरी ९ पदक हात पारेको छ। यस्तै महेन्द्र माध्यमिक विद्यालय गैरीज्यावनले २ स्वर्ण, २ रजत र २ कास्य, सिताराम माध्यमिक विद्यालय डौडले १ स्वर्ण, १ रजत र १ कास्य, महादेव माध्यमिक विद्यालय अठपालीले १ स्वर्ण र ४ कास्य गरी ५ पदक प्राप्त गरेको छ। चन्द्र माध्यमिक विद्यालय गिरौलेले १ स्वर्ण, रत्न माध्यमिक विद्यालय खोल्लेकले ७ रजत र १ कास्य गरी ८ पदक हात पारेको छ। त्यसैगरी कन्या माध्यमिक विद्यालय बटुलसेराले २ रजत र ३ कास्य, शिव माध्यमिक विद्यालय पातलले २ रजत र २ कास्य, भगवती माध्यमिक विद्यालय सोलाले १ रजत र १ कास्य तथा सत्य माध्यमिक विद्यालय तोलिचौरले १ रजत र १ कास्य पदक प्राप्त गरेका छन्।
प्रतियोगितामा बुङ्गल नगरपालिकाभित्रका १४ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। एथलेटिक्स, भलिबल, कबड्डी लगायतका विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको नगर खेलकुद समितिले जनाएको छ। समितिका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदको विकास, अनुशासन र प्रतिस्पर्धी भावना अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























