बझाङ; बुंगल नगरपालिका खेलकुद समितिको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । पाँचौँ संस्करणका रूपमा आयोजित उक्त प्रतियोगिताको उद्धाटन बुंगल नगरपालिका–४ विजगडा स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा नगर प्रमुख जयबहादुर धामीको प्रमुख आतिथ्यतामा गरिएको हो ।
खेल मैदान अभावका कारण प्रतियोगिताका खेलहरू सरस्वती माध्यमिक विद्यालय, विजगडा तथा कन्या माध्यमिक विद्यालय, झापामा सञ्चालन भइरहेका बुंगल नगरपालिका खेलकुद समितिका अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिनुभयो । प्रतियोगितामा नगरपालिका भित्रका सबै १४ वटा माध्यमिक विद्यालयका छात्र–छात्राको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, भाला फाल, सटपुट र लङजम्पलगायतका विभिन्न खेलहरू समावेश गरिएका छन् । उद्धाटन पछि मंगलबार बाटै भलिबल र कबड्डी प्रतियोगिता खेलहरु शुरु गरिएका छन् । खेलकुद समितिका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास, आत्मविश्वास वृद्धि र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

उद्धाटन समारोहमा नगर प्रमुख जयबहादुर धामीले २०८० सालको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुंगल नगरपालिकाले उपाधि हात पारेको स्मरण गर्दै यस वर्ष पनि जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न खेलाडीहरूलाई तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका र आफूबाट गर्नुपर्ने सबै सहयोग गर्न सदैव तत्पर रहेको स्पष्ट पार्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि तथा बुंगल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले सहभागी सबै विद्यालयका खेलाडीहरूलाई शुभकामना दिँदै प्रतियोगितामा उपाधि जित्ने विद्यालयका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप रु १० हजार नगद पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि तयार पार्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्धाटन कार्यक्रममा बझाङका प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठी, प्रहरी नायब उपरीक्षक खकेन्द्र धमला, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नगरपालिका खेलकुद समितिले प्रतियोगिताले नगरभित्रका विद्यालयहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा, खेल भावना र सामुदायिक एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।


























