विश्व वातावरण दिवसकाे अवसर पारेर बझाङमा ४,५०० सुन्तलाका बिरुवा रोपियो

Image

बझाङ । विश्व वातावरण दिवसको अवसरमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा ‘एक आर.सी. बालबालिका, एक बिरुवा’ वृक्षारोपण अभियान सञ्चालन गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिका, कृषि ज्ञान केन्द्र बझाङ तथा डिभिजन वन कार्यालय बझाङको समन्वयमा, साथै दलित सहयोग समाज र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत उक्त अभियान सञ्चालन गरिएको हो।

अभियान अन्तर्गत दुवै स्थानीय तहमा ४ हजार ५ सय सुन्तला  र कागितका  बिरुवा रोपिएका छन्। वृक्षारोपण कार्यक्रममा करिब ४ हजार ५ सय बालबालिका तथा अभिभावक सहभागी भएका थिए। दलित सहयोग समाजका कार्यक्रम संयोजक रमेश बहादुर मालीका अनुसार जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका चुनौतीबीच बालबालिकालाई वातावरण संरक्षणमा सक्रिय सहभागी गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। परियोजनाअन्तर्गत बालबालिकाले आफ्ना परिवार, शिक्षक, स्थानीय सरकार तथा सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा घर, विद्यालय तथा समुदायका विभिन्न स्थानमा बिरुवा रोपेका छन्।

यस अभियानले बालबालिकामा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज तथा प्रगतिशील युवा समाजको संयुक्त पहलमा सञ्चालन गरिएको यस अभियानले बालबालिकालाई वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौती समाधानमा प्रत्यक्ष सहभागी गराउने विश्वास लिइएको छ। विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको यो अभियानले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा भावी पुस्तामा प्रकृतिप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन