बझाङ, जेठ २१ – विश्व वातावरण दिवसको अवसरमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा ‘एक आर.सी. बालबालिका, एक बिरुवा’ रोपण अभियान सञ्चालन गरिने भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिका, कृषि ज्ञान केन्द्र बझाङ र डिभिजन वन कार्यालय बझाङको समन्वयमा दलित सहयोग समाज र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत अभियान सञ्चालन गर्न लागिएको हो।

अभियानमार्फत दुई स्थानीय तहका करिब ४ हजार ५ सय बालबालिका तथा अभिभावकलाई परिचालन गरिने दलित सहयोग समाजका कार्यक्रम संयोजक रमेशबहादुर मालीले जानकारी दिए। उनका अनुसार जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको चुनौतीका बीच बालबालिकालाई वातावरण संरक्षणमा सक्रिय सहभागी गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। परियोजनाअन्तर्गत बालबालिकाले आफ्ना परिवार, शिक्षक, स्थानीय सरकार तथा सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा घर, विद्यालय तथा समुदायका विभिन्न क्षेत्रमा वृक्षारोपण गर्नेछन्।

अभियानले बालबालिकामा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज तथा प्रगतिशील युवा समाजको संयुक्त पहलमा सञ्चालन हुने यस अभियानले बालबालिकालाई जलवायु परिवर्तनका समस्या समाधानमा प्रत्यक्ष सहभागी गराउने विश्वास गरिएको छ।
























