केदारस्यूँ गाउँपालिकामा ‘हातेमालो’ परियोजना परिचयात्मक कार्यशाला सम्पन्न

Image

बझाङ – केदारस्यूँ गाउँपालिकामा बाल समृद्धि तथा एकीकृत विकास कार्यक्रमअन्तर्गत ‘हातेमालो’ परियोजनाको परिचयात्मक कार्यशाला सम्पन्न भएको छ। दलित सहयोग समाज, प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा आयोजना गरिएको उक्त कार्यशालाको अध्यक्षता प्रगतिशील युवा समाजका सहसचिव प्रवेन्द्र धामीले गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गणेश बोहरा रहनुभयो भने विशिष्ट अतिथिको आसन उपाध्यक्ष मनिषा धामीले ग्रहण गर्नुभएको थियो। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत केशव भट्ट, गाउँपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, शिक्षक, बाल क्लब प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, तीनवटै संस्थाका कर्मचारी तथा सरोकालावालाको उपस्थिति रहेको थियो।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालका वेस्ट अफिस फिल्ड अपरेशनल म्यानेजर चेतराज भट्टराई, संस्था प्रतिनिधि सुरेश लेखक, जिल्ला संयोजक मनेका मल्ल, दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपाली, प्रगतिशील युवा समाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशी, दलित सहयोग समाजका कार्यक्रम संयोजक रमेश बहादुर माली लगायतको उपस्थिति विशेष थियो।

कार्यक्रम सञ्चालन उत्तम बहादुर मल्लले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीले प्रस्तुत गर्नुभएको थियो। उहाँले पाँच वर्षीय रणनीतिक चक्र सकिएको तथा नयाँ पाँच वर्षीय रणनीतिक चक्रको शुभारम्भसँगै परियोजनाको रूपरेखा बारे जानकारी गराउनुभएको थियो।

परियोजनाको प्रस्तुति क्रमशः रमेश बहादुर माली, यज्ञराज जोशी र मनेका मल्लले प्रस्तुत गरेका थिए। २०२१ देखि २०२५ सम्मका गतिविधि तथा उपलब्धिहरूको समग्र विवरण पेस गर्दै २०२६–२०३० का लागि तय गरिएका क्रियाकलापहरूबारे जानकारी गराइएको थियो। वडा नम्बर २ का अध्यक्ष शेरबहादुर बिष्टले तीनवटै संस्थाप्रति धन्यवाद व्यक्त गर्दै कृषि, शिक्षा तथा जीविकोपार्जन क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम अपेक्षित रहेको बताउनुभयो।

वर्ल्ड भिजनका चेतराज भट्टराईले सहभागीहरूको सुझावलाई सम्बोधन गर्दै अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष मनिषा धामीले पनि पालिका स्तरबाट आवश्यक सहयोग र साझेदारी गर्न तयार रहेको बताउँदै संस्थाप्रति आभार प्रकट गर्नुभयो।

गाउँपालिका अध्यक्ष गणेश बोहराले कार्यक्रमको प्रभावकारिता उच्च रहेको उल्लेख गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।अन्त्यमा अध्यक्षता गरिरहेका प्रवेन्द्र धामीले सबैको सुझाव, साथ र सहयोगका लागि धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्