बझाङको बित्थडचिर–३ स्याँडीमा सम्पन्न ध्याची मेलापछि मेला क्षेत्र तथा मन्दिर परिसर वरिपरिको क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

स्वतन्त्र विद्यार्थी युनियन, सुनकुडा क्याम्पस बझाङ, स्याँडी स्वास्थ्य चौकी र बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सम्पन्न अभियान युवाहरूको सक्रियतामा सम्पन्न भएको हो। यसमा व्यापारी, सहकारी संस्था तथा स्वास्थ्य चौकीका कर्मचारीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।
आयोजकहरूले सरसफाइ अभियानमार्फत मेलाको स्थानलाई अझ स्वच्छ, व्यवस्थित र आकर्षक बनाउन पहल गरिएको जनाएका छन्।

यस अवसरमा स्वतन्त्र विद्यार्थी युनियन, सुनकुडा क्याम्पसका अध्यक्ष कपिल बिष्टले मेला–महोत्सवमा रमाइलो गर्ने मात्र नभई त्यसलाई व्यवस्थित र सफा राख्ने जिम्मेवारी पनि सबैकै रहेको बताउनुभयो। उहाँले युवाले दोष देखाउने मात्र होइन, समाधानमा लागे परिवर्तन सम्भव हुने उल्लेख गर्दै भन्नुभयो– “हाम्रो परम्परा र संस्कृतिलाई जोगाउँदै नयाँ पुस्ताले समाजप्रति उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने सन्देश दिन हामीले यो पहल गरेका हौं।”
बिष्टका अनुसार एकताबद्ध भएर काम गर्ने हो भने समाजलाई सफा, सभ्य र सुन्दर बनाउन सकिन्छ। उहाँले अबको बाटो युवाको भएको बताउँदै, हरेक अवसरलाई समाजको हितमा बदल्ने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो।
























