बझाङ – बझाङको बित्थडचिर गाउँपालिकामा लाग्ने सांस्कृतिक तथा ऐतिहासिक ध्याची मेलामा स्थापना गरिएको सहायता कक्षमार्फत १५० भन्दा बढी व्यक्तिले स्वास्थ्य सेवा लिएका छन्।
मेलामा स्वास्थ्यसम्बन्धी समस्या जटिल हुने भएकाले विशेष सहायता कक्ष स्थापना गरिएको आयोजकहरूले जनाएका छन्। उक्त कक्षमा स्वास्थ्य टोली परिचालन गरी सम्भावित दुर्घटना, बच्चा वा सामान हराउने समस्या समाधान गर्न, साथै मेलालाई सभ्य र भव्य बनाउन सहयोग गरिएको हो।

स्वतन्त्र विद्यार्थी युनियन, सुनकुडा क्याम्पस बझाङका अध्यक्ष कपिल बिष्टले युवाहरूले दोष मात्र नदिई समाजको हितमा योगदान दिनुपर्ने सन्देश दिएका छन्। त्यस्तै, भक्त पालकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सडकमा ट्राफिक व्यवस्थापन र गाडीको सहज आवतजावतका लागि दिनभर खटिएको बताए।
बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक किशोर बोहराले सहकारी संस्थाले समाजका यस्ता आवश्यक कार्यमा संलग्न रहनुपर्ने बताए। उता, स्याँडी स्वास्थ्य चौकी प्रमुख कृष्ण अवस्थीले मेलामा स्वास्थ्य चुनौती सहज बनाउन सहायता कक्ष स्थापना महत्वपूर्ण पहल भएको उल्लेख गरे।

दिनभर युवाहरूले माइकिङमार्फत मेलालाई सभ्य र भव्य बनाउन आग्रह गरेका थिए। आयोजकहरूले भोलि बिहान १० बजेदेखि मेला क्षेत्र वरिपरिको विशेष सरसफाइ कार्यक्रम सञ्चालन हुने जानकारी पनि दिएका छन्।
युवाहरू, स्वास्थ्य टोली, सहकारी संस्था र विद्यार्थी युनियनको सक्रिय सहभागिताले यस वर्षको ध्याची मेलालाई सुरक्षित, व्यवस्थित र गौरवपूर्ण बनाउन महत्वपूर्ण योगदान दिएको आयोजकहरूको भनाइ छ।

























